एनआरएनएको मतदान आज हुने, केही उम्मेदवारको नाम दुवै सूचीमा, केही निर्विरोध

by समतल अनलाइन

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुनेभएको छ । हिजो बेलुका ५ बजेदेखि हुने भनिएको मतदान पटक पटक पछाडी सार्दै आज विहान १० बजेपछि हुने तय भएको हो ।

मतदानका लागि प्रयोग गरिएको विद्युतीय मेसिनमा समस्या आएको भन्दै निर्वाचन समितिले मतदान स्थगतको घोषणा गरेको थियो । त्यसअघि निर्धारित समयमा मतदान सुरु नगराएको भन्दै मतदानस्थलमा मतदाताहरुले नारावाजी तथा तोडफोड गरेका थिए । उनीहरुले संघमा दलीय चलखेल भएको, आफूखुशी विधानको परिवर्तन गर्न खोजिएको र मतदान नगराउने षड्यन्त्र भएको आरोप पनि लगाएका थिए । कतिपय मतदाताले त ’निर्वाचन बहिस्कार गरौं’ भन्दै नारासमेत लगाएका थिए ।

नाराबाजी तथा तोडफोड भएपछि पछि प्रहरीले बल प्रयोग गरी नाराबाजी गर्नेहरुलाई तितरबितर पारेको थियो भने अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

विश्वका विभिन्न ८१ देशबाट सम्मेलनका लागि झण्डै तीन हजार प्रतिनिधि काठमाडौ आएका छन् । काठमाडौ जोरपार्टी स्थीत होटल हायातमा गत २८ गतेदेखि संघको नवौँ विश्व सम्मेलन तथा महाधिवेशन सुरु भएको हो ।

संघको नयाँ नेतृत्वका लागि निवर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यको नेतृत्वमा छुट्टा छुट्टै समूह चुनावी मैदानमा रहेका छन् । सचिवमा गौरीराज जोशी र कोषाध्यक्षमा महेश श्रेष्ठको नाम भने दुवै समूहको सूचीमा परेको छ । निर्वाचनमा कतिपय उम्मेदवारे निर्विरोध निर्वाचित भइसकेका छन् ।

 
 
  
 

You may also like