यु-१९ महिला साफ च्याम्पियनसिप : नेपाल आज भारतसँग भिड्दै, बराबरी खेले पनि फाइनलमा

by समतल अनलाइन

काठमाडौं । नेपाली महिला टोलीले यु-१९ महिला साफ च्याम्पियनसिपमा आइतबार (आज) भारतविरुद्ध खेल्दैछ । नेपाललाई फाइनलमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा आज भारतविरुद्ध कम्तिमा बराबरी गर्नुपर्नेछ ।

तीन खेलबाट सात अंक जोेडेको नेपाल अहिले लिग तालिकाको शीर्ष स्थानमा छ । समान सात अंक जोडेको आयोजक बंगलादेश दोस्रो स्थानमा छ । पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोविन प्रणालीमा खेलाइएको छ । शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तीन खेलबाट ६ अंक जोडेको भारत तेस्रो स्थानमा छ । आजै बंगलादेशले कमजोर देखिएको श्रीलंकाविरुद्ध खेल्ने छ । प्रतियोगितामा जित निकाल्न नसक्ने श्रीलंका एक मात्र टोली हो । त्यसैले बंगलादेशले श्रीलंकालाई सहजै हराउने अनुमान लगाउन सकिन्छ । बंगलादेशले जितेमा उसको दश अंक हुनेछ ।

त्यसकारण नेपाल र भारतबीचको नतिजाले अर्को फाइनल खेल्ने टोलीको टुंगो लगाउनेछ । नेपालले जित वा बराबरी गरेमा फाइनलमा स्थान बनाउनेछ । पराजित भए नेपाल बाहिरिने छ । त्यसैले नेपाललाई आज कम्तिमा बराबरी गर्नुपर्नेछ ।

नेपाल पहिलो संस्करणको उपविजेता टोली हो । नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । यसपटक नेपाल बंगलादेशसँग बदला लिएर उपाधि उचाल्ने लक्ष्यसाथ बंगलादेश गएको छ । त्यसकारण उपाधि सम्भावना कायम राख्न आज भारतलाई कम्तिमा बराबरीमा रोक्नुपर्नेछ । २०१८ मा भुटानमा सम्पन्न पहिलो संस्करणमा नेपालले भारतलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गरेको थियो । निर्धारित समयमा भने १-१ को बराबरी खेलेको थियो ।

 
 
  
 

You may also like