सन्दीप नेपाली क्रिकेटको नयाँ कप्तान, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी हटाइए

by समतल अनलाइन

काठमाडौं । लेगस्पिनर सन्दीप लामिछाने नेपालका दशौं कप्तान बनेका छन् । २०१९ मा १७ वर्षको उमेरमै नेदरल्यान्ड्सविरुद्ध एकदिवसीयमा डेब्यु गरेका उनले अन्तर्राष्ट्रिय टी-२० डेब्यु भने २०१८ मा आइसिसी विश्व-११ बाट वेस्ट इन्डिजविरुद्ध गरेका थिए ।

२०१६ मा लिस्ट एमा नामिबिया र २०१९ मा पहिलो श्रेणी क्रिकेटमा डेब्युको अवसर पाए । सन्दीपले नेपालबाट एक दिवसीयमा १६ मध्ये १५ इनिङ्समा ४१ विकेट लिएका छन् । एक दिवसीयको ११ इनिङ्समा १०५ रन बनाएका छन् । टी-२० मा विशेषज्ञ लेगस्पिनरको स्थान बनाएका उनले नेपाली टोलीबाट २६ खेलमा ४७ विकेट लिएका छन् । भारतको इन्डियन प्रिमियर लिगअन्तर्गत दिल्ली क्यापिटल्समा तीन सिजन बिताएका सन्दीप विभिन्न विश्वप्रख्यात अन्तर्राष्ट्रिय टी-२० लिगमा आबद्ध छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई अनुशासनको कारबाही गर्दै जिम्मेवारीबाट हटाएको छ । बुधबार बसेको क्यान बोर्ड बैठकले अनुशासनविपरीत काम गरेको भन्दै मल्ल र ऐरीलाई जिम्मेवारीबाट हटाउने निणर्य गरेको हो । नयाँ कप्तानको जिम्मेवारी लेगस्पिनर सन्दीप लामिछानेलाई दिइएको छ ।

सन्दीप नेपाली सिनियर क्रिकेट टोलीका दशौँ कप्तान हुन् । उनी अहिले अस्ट्रेलियामा चलिरहेको बिग बास टी-२० फ्रेन्चाइज लिगमा व्यस्त छन् । उनी छोटो समयमै यू-१९ टोली हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडी हुन् । कप्तानका रूपमा सन्दीपसँग नेपालमा आयोजना हुने एभरेस्ट प्रिमियर लिग (इपिएल)अन्तर्गतको काठमाडौं किंग्स इलाभेन र पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर किंग्सको अनुभव छ ।

पारस खड्काले कप्तानी छाडेपछि २०१९ मा ज्ञानेन्द्र राष्ट्रिय टोलीका कप्तान बनेका थिए । क्यानले ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को केन्द्रीय ग्रेडबाट सुरुवाती ६ महिना सहभागी नगराउने निणर्य समेत गरेको छ । कारबाहीमा परेका चार खेलाडीले सन् २०२२ मा प्राप्त हुने ६ महिनाको तलब पाउने छैनन् । कप्तानबाट हटेपछि मल्लले तत्काल टिप्पणी नगर्ने बताए । ‘अहिले केही बोल्दिनँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘केही दिनभित्र मेरो औपचारिक प्रतिक्रिया आउनेछ ।’

क्यानले गठन गरेको अनुशासनसम्बन्धी छानबिन समितिले खेलाडीहरूले आचारसंहिता उल्लंघन गरेको प्रतिवेदन दिएपछि क्यानले ज्ञानेन्द्र र दीपेन्द्रलाई जिम्मेवारीबाट हटाएको हो । ‘अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिसबमोजिम आचारसंहिता उल्लंघनमा संलग्न चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउन निणर्य गरिएको छ,’ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मल्लसहितका खेलाडीले क्यानले कात्तिकमा जारी गरेको खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल, कमलसिंहले असन्तुष्टि पोखेका थिए । त्यसपछि क्यानले उनीहरूसँग २५ कात्तिक र ८ मंसिरमा गरी दुई पटक स्पष्टीकरण लिएको थियो ।

यसबीच ५ मंसिरमा ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै क्यानलाई ११ बुँदे माग बुझाए । उनीहरूले क्यानलाई सात दिनभित्र आफ्नो माग पूरा हुनुपर्ने माग राखेका थिए । सोमपालले बी ग्रेडमा पर्दा आफूमाथि अन्याय भएको बताएका थिए भने कमलसिंह सी ग्रेडमा रहँदा सन्तुष्ट थिएनन् ।

क्यानको वर्गीकरणमा ज्ञानेन्द्र र दीपेन्द्र ग्रेड एमा छन् । वर्गीकरणमा असन्तुष्ट हुँदा क्यान र खेलाडीबीच विवाद बढ्दै गएको थियो । छानबिन समितिले आइतबार क्यानलाई प्रतिवेदन बुझाएको थियो । क्यानले अन्तिममा मल्ल र ऐरीलाई पदमुक्त गर्ने निणर्य लिएको हो । यसैबीच, क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण २१ डिसेम्बरदेखि पोखरामा सञ्चालन गर्ने निणर्य गरेको छ ।

क्यान बोर्डका ६ सदस्यको विरोध

खेलाडीहरूलाई कारबाही गर्ने निणर्यप्रति क्यान बोर्डका ६ सदस्यले आपत्ति जनाए । छानबिन समितिको प्रतिवेदनमाथि छलफल गर्न बुधबार बसेको क्यान बैठकमा खेलाडीमाथि कारबाहीका सम्बन्धमा विवाद भएको सहभागी एक सदस्यले बताए ।

 
 
  
 

You may also like