उद्योगी व्यवसायीहरुले कृषि, उद्योग र व्यापारमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताएका छन् । युवाहरुको आकर्षण नभएसम्म यी तीनै क्षेत्र ओरालो लाग्ने भएकाले युवा सहभागिता बढाउन सरकारले ठोस नीति ल्याउनुपर्ने उनीहरुको सुझाव छ ।

तिलोत्तमा उद्योग व्यापार संघको शनिबार मणिग्राममा आयोजित प्रथम साधारणसभा एवं प्रथम अधिवेशनमा बोल्दै उद्योगी व्यवसायीले यस्तो बताएका हुन् । उनीहरुले उद्योग व्यवसाय सञ्चालनको वातावरण तयार गर्नका लागि विद्यमान नीतिमा परिमार्जनको खाँचो औंल्याउँदै किसानहरुलाई प्रििधमैत्री बनाउनुपर्ने र युवाहरुलाई कृषि उद्योगमा आकर्षित गर्नुपर्ने बताए ।

साधारणसभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमा नगर व्यापारिक केन्द्र बन्दै गइरहेको भन्दै लगानीका प्रशस्त संभावना रहेकाले कृषि, उद्योग र व्यापारमा लगानी बढाउन आग्रह गरिन् ।

संघका अध्यक्ष लोकबहादुर थापाले समृद्धिको अभिभारा पूरा गर्नका लागि पनि युवाहरुलाई कृषि, उद्योग र व्यापारमा संलग्न गराउनु जरुरी रहेको बताए । संघका प्रथम उपाध्यक्ष शिवराज गुरुङ र द्वितीय उपाध्यक्ष सुन्दर गुरुङले उद्योगी व्यवसायीको हक हितका लागि संस्था निरन्तर लागिरहने भन्दै व्यवसाय मैत्री वातावरण निर्माणका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरिने बताए ।

त्यस अवसरमा वडा सदस्य अरुणा राना, राष्ट्रिय जनमुक्ति पार्टीका प्रेमबहादुर बुढा, करिहया खानोपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष यमबहादुर पुन, संस्थाका सल्लाहकारद्वय झमबहादुर गुरुङ र तेजबहादुर सुनार, लुम्बिनी टेक्टरस समितिका अध्यक्ष खेम गौतम, प्रस्तावित चमलुङ्गा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लिलामाया राना, संस्थाका महासचिव वसन्त सिंजाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 
 
  
 

You may also like