‘विद्यालयहरुमा मानसिक स्वास्थ्य बिषयमा पनि अध्यापन गराउन जरुरी’

by समतल अनलाइन

बुटवल । विद्यालयहरुमा मानसिक स्वास्थ्य बिषयमा पनि पठन पाठन गराउन पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सम्भाव्य फाउण्डेशनद्धारा शनिबार रुपन्देहीको ड्राइभरटोलमा आयोजित यस क्षेत्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरु सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् ।

समयमै मनोसामाजिक परामर्श नपाउदा बालबालिकाहरु विभिन्न मानसिक रोग रोगबाट ग्रसीत हुन गरेको भन्दै उनिहरुले विद्यालय हरुमा मानसिक स्वास्थ्य सम्बन्धी बिषयमा पनि पठन पाठन गराउनु पर्ने आवस्यकता औल्याए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका साईकोलोजीका उप – प्राध्यापक संजेश श्रेष्ठले संस्थागत विद्यालयहरुमा एक नर्स र एक मनोसामाजिक परामर्शदाता नियुक्त गर्नु पर्ने राज्यको पोलिसी भए पनि नगण्य विद्यालयले मात्रै नर्स र मनोसामाजिक परामर्शदाता नियुक्त गरेको बताए । कोरोना महामारी पछि बालबालिकाहरुमा मनोवैज्ञानिक असर परेको भन्दै उनले अहिलेको अवस्थामा विद्यालयहरुमा मानसिक स्वास्थ्य बिषयमा अध्यापन गराउनु थप उपयोगि हुने बिचार व्यक्त गरे ।

कार्यक्रमका मुल्याङ्कन प्रबन्धक रजिता महर्जनले कोभिड महामारीका कारण बढी प्रभावित समुह विधालयका बालबालिका किशोरकिशोरीहरु रहेकाले उनिहरुको मानसिक स्वास्थ सम्बन्धी परामर्शको कार्यक्रमको आयोजना गरिएको बताईन ।

सहभागि संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले भने विद्यालयमा मनोपरामर्शदाता तथा नर्स नियुक्त गर्नु सान्दर्भीक रहे पनि सबै विद्यालयले त्यस्तो व्यवस्था गर्न सक्ने अवस्था नरहेको बताएका थिए ।

सम्भाव्य फाउण्डेशनका अध्यक्ष अनिल कुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका रन्जीता महर्जन, साबित्री सोमरे थापा, पुरब सोमरे थापा, सिद्धार्थ बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक यम बहादुर राना, न्यू पायोनियरका प्रिन्सिपल प्रभा श्रेत्री , एपेक्स ईग्लिस बोर्डिङ्गका प्रिन्सिप दिपक गौतम , न्यू ईन्भाइरोमेन्ट स्कूलका प्रिन्सिपल मधु प्रकाश ज्ञवाली , डनचिल्ड्रेनका प्रिन्सिपल सुवोध भट्टराई, केपिएम स्कूलका प्रिन्सिपल डा. समुयल आर रमपात ,लिटिल बर्ड ईगिलस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल श्रवण कुमार गौतम , दिप बोर्डिङ्गका भाईसप्रिन्सिपल सुरेन्द्र शाक्य, एभरेष्ट स्कूलका भाईस प्रिन्सिपल भिमसेन गौतम, कान्ति मा. वि.का प्रतिनिधी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सन् २०१८ मा स्थापना भएको सम्भाब्य फाउण्डेशनले देशका विभिन्न १६ वटा विधालयमा मानसिक स्वास्थ परामर्शका कार्यक्रम संचालन गर्दै आएको छ भने रुपन्देहीमा पहिलो पटक यस किसिमको कार्यक्रमको आयोजना गरीएको बताएको छ ।

 
 
  
 

You may also like