१० वटा मर्ज भएर बनेको सबैको सहकारीको अध्यक्षमा : भूसाल

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमाका १० वटा सहकारी संस्थाहरु मर्ज (एकीकृत) भएर बनेको सबैको वचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारणसभाले भरत भुसालको अध्यक्षतामा नयां सञ्चालक समिति चयन गरेको छ । शनिबार मणिग्राममा सम्पन्न साधारणसभाले चार वर्षे कार्यकालका लागि सर्वसम्मतरुपमा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा चुरामणि पाण्डेय, सचिवमा देवानन्द पाण्डेय,कोषाध्यक्षमा मीरा बस्याल पाण्डे निर्वाचित भएका छन् । यस्तै सञ्चालक समिति सदस्यहरुमा चक्रपाणी पाठक, चन्द्रकुमारी थापा, देवकला भट्टराई,देवप्रसाद गुरुङ, विष्णुप्रसाद पाण्डे, विष्णुु प्रसाद भण्डारी, विष्णुबहादुर बराल,डा. मुरारी पराजुली,सुकबहादुर नेपाली र हिमकला ओस्ती निर्वाचित भएका छन् । यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा हरिप्रसाद न्यौपाने तथा सदस्यहरुमा ऋषिराम भण्डारी र रामचन्द्र पाण्डे चयन भएका छन् ।
साधारणसभामा सञ्चाल समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष भरत भुसालले तिलोत्तमा क्षेत्रमा छरिएर रहेका सहकारी संस्थाहरुलाई एकीकरण गरी सुदृढ र सबल संस्था बनाउने उद्देश्यले १० वटा सहकारीलाई एकीकरण गरिएको बताए । संस्थाले चार वर्षे रणनीतिक योजना बनाई शेयर सदस्यको माग र आवश्यकता अनुसार संस्थाले वित्तीय सेवा दिने बताए । एकीकरणपछि सहकारीको शेयर पुंजी ९ करोड ५७ लाख ४२ हजार ६ सय रुपैयां,वचत रकम ७० करोड ७५ लाख १८ हजार ९१६ रुपैयां,जगेडा कोष रकम १ बरोड ५० लाख ६८ हजार ७ सय २६ रुपैया र अन्य कोष ८२ लाख ८२ हजार ९९६ रुपैया रहेको तथा शेयर सदस्य संख्या ५ हजार एक सय ७७ जना र सेवा केन्द्र ११ रहेका जानकारी गराए । सहकारीको कार्य क्षेत्र तिलोत्तमा र सिद्र्धानगर नगरपालिका, बुटवल उपमहानगरपालिका र ओमसतिया गाउपालिका रहेको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार कृष्णप्रसाद अर्याल,तिलोत्तमा–५ का वडा अध्यक्ष चेतनारायण भण्डारी,राष्ट्रिय सहकारी बैंक तिलोत्तमा प्रमुख यशोदा पौडेल,डा. मुरारी पराजुली,तिलोत्तमा चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे लगायतले संस्थाले थालेको एकीकरण अभियानलाई अझ विस्तार गरी प्रदेशकै बलियो र नमूना सहकारी बनाउन सुझाव दिएका थिए ।
साधारणसभामा कोषाध्यक्ष मानकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा उद्योगमा २० करोड,कृषि र पशुपालनमा ७ करोड,ब्यापार व्यवसायमा ६० करोड,आवास तथा जगा कर्जामा ८० करोड र निक्षेप कर्जामा ८ करोड गरी कूल एक अर्ब ७५ करोड रुपैयां ऋण लगानी गर्ने गरी वार्षिक वजेट तय भएको जानकारी गराइन् । संस्थाले पहिलो वर्षमै १ करोड २९ लाख ४२ हजार रुपेयां शुद्ध मुनाफा आर्जन गरेको बताइन् ।

 
 
  
 

You may also like