तीन महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे थप निर्णय गर्ने

by समतल अनलाइन

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (आइतबार) बस्ने भएको छ । करिव ३ महिनापछि सत्तारुढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशन तयारीबारे छलफल हुनेछ ।

शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकमा हुने छलफलका लागि महाधिवेशन तयारीका एजेण्डा तयार पारेको छ । बैठकले केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका अनुमोदन गर्नेछ । भातृ तथा विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु र सरकार सञ्चालनको विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछन् । सर्वोच्च अदालतको विवादबारे पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय निर्वाचन समितिले परिमार्जन गरेको महाधिवेशन कार्यतालिका अनुमोदन गर्ने, महाधिवेशनका लागि आवश्यक समितिहरु गठन, महाधिवेशन प्रयोजनका लागि विधानका विभिन्न धारा–उपधारा निलम्बन गर्ने बताइएको छ ।

‘बैठकले निर्वाचन समितिले गरेको हेरफेरलाई अनुमोदन गर्छ । महाधिवेशनको तयारी र व्यवस्थापनका लागि समिति र उपसमितिहरू गठन हुन्छन्,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘महाधिवेशनलाई अगाडि बढाउने क्रममा विधानका कतिपय धाराहरुलाई संशोधन–निलम्बन गर्नुपरेको अवस्था थियो । यसबारे पनि बैठकले टुंगो लगाउँछ ।’ केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न शनिबार बूढानीलकण्ठमै कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको थियो । पदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंसिर २४–२७ मा १४औँ महाधिवेशन गर्ने मिति निर्धारण गरेको छ । दशैंतिहार, नेपाल सम्बत र छठका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया शनिबारबाट फेरि सुरु भएको छ ।

जसअन्तर्गत शनिबार प्रदेश २ का सर्लाहीबाहेक आठ, सुदूरपश्चिमको कैलाली, कर्णालीको सुर्खेत र डोल्पा, लुम्बिनीको बाँके तथा बागमतीको रसुवा जिल्लामा वडा अधिवेशन सुरु भएको छ । कांग्रेसले ६४ जिल्लाहरुमा यसअघि नै अधिवेशन प्रक्रिया सुरु गरेको थियो। जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँ÷नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् ।

कांग्रेसले ५१ जिल्लाहरुमा वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गरिसकेको छ । हिमालका १३ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ । २१ हिमाली जिल्लामध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको हो ।

क्रियाशील सदस्यता र समायोजनमा विवाद देखिएपछि महाधिवेशन प्रक्रिया सुरु हुन नसकेका १३ जिल्लामा कात्तिक ३० गते गाउँ-नगरपालिका अधिवेशन निर्धारण गरिएको छ । कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र वडा अधिवेशन सुरु नभएका १३ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन गर्ने तयारी गरेको छ ।

१३ जिल्लामा वडा र पालिका अधिवेशन भइसकेपछि आगामी मंसिर ३ गते ६४ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन सुरु गरिने कांग्रेसको कार्यतालिका छ । कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सातै प्रदेशको अधिवेशन हुनेछ ।

 
 
  
 

You may also like