ग्लास्कोमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

by समतल अनलाइन

बेलायत । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । विश्व जलवायु सम्मेलनमा सहभागी हुन स्कटल्याण्डको ग्लास्को पुगेका बेला दुई प्रधानमन्त्रीबीच आज (मंगलबार) भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । त्यसै गरी जलवायु परिवर्तनको असर र कोरोना अन्त्यका लागि सँगसँगै अघि बढ्ने विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री देउवा पाँचौंपल्ट प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो । आजै प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नेछन् । यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नेछन् ।

नोभेम्भर १ मा शुरु भएको सम्मेलनमा सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए । मङ्गलबार राष्ट्र प्रमुख र सरकार प्रमुखहरुको सम्बोधन सम्पन्न भएसँगै सम्मेलन समापन गरिने तालिका रहेको छ । सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्र प्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ ।

नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. माधवबहादुर कार्की, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना छन् ।

 

 
 
  
 

You may also like