चितवन। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आउँदो आम निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । आज (बिहीबार) चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
‘गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नु पर्छ’, उनले भनिन्, ‘कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्छ ।’ फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन् । ‘सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नु भएको छ । विश्वास गर्नुपर्यो । समयमा नै अधिवेशन हुनुपर्छ’, उनले भनिन् । महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन् ।
राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताइन् । कांग्रेसको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताइन् । पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उनले भनिन्, ‘यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।’