उत्तरी नाकामा सहजै प्रवेश पाउनुपर्ने व्यवसायीहरूको माग

by समतल अनलाइन

काठमाडाैँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीले सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने व्यवस्था गरिएको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले चीनबाट नेपालमा धेरै सामान आयात हुने भएकाले व्यवसायीलाई व्यवसायको सहजताका लागि मल्टिपल भिसाको व्यवस्था गर्नुपर्ने बताए । “मल्टिपल भिसाको व्यवस्था गरेसँगै व्यापार व्यवसायमा सहज हुनेछ”, उनले भने ।

महासङ्घले चीनबाट नेपाल आउने सामान छुटाउनका लागि नाकासम्म पुग्न अस्थायी पासको व्यवस्था गर्नसमेत माग गरेको छ । अस्थायी पासको व्यवस्थासँगै सामान हराउने वा चोरी हुने क्रम रोकिने महासङ्घको ठहर रहेकाे खबर आजको गाेरखापत्र दैनिकमा छ ।

 
 
  
 

You may also like