दसै अवधिभर प्रदेश ५ मा सवारी दुर्घटनामा २४ जना गयो ज्यान

by समतल अनलाइन

रुपन्देही । प्रदेश नम्बर ५ मा दशैंको समयमा सवारी दुर्घटनामा परी २४ को ज्यान गएको छ । प्रादेशिक ट्राफिक कार्यालय प्रदेश नम्बर ५ बुटवलका अनुसार असोज १२ गतेदेखि २४ गतेसम्म प्रदेश अन्तर्गतका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० पुरुष र ४ महिला गरी २४ को ज्यान गएको हो ।

सवारी दुर्घटना र ज्यान गुमाउनेको संख्या अघिल्लो बर्षको दशैंको समयमा भन्दा अहिले केही बढेको प्रादेशिक ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राम प्रकाश शाहले बताए । सवारी दुर्घटनामा परी रुपन्देही र पश्चिम नवलपरासीमा ४/४ जना, कपिलबस्तु, अर्घाखाँची, प्युठान र रोल्पामा ३/३ जना, बाँकेमा २ तथा दांग र बर्दियामा १/१ को ज्यान गएको शाहले जनाए ।

दुर्घटनामा परी ६२ जना गम्भीर घाइते र ५८ जना सामान्य घाइते भएका थिए । सबैभन्दा दुःखद दुर्घटना अर्घाखाँचीमा भएका थियो । दशैंको २ दिन अघि भएको सो जीप दुर्घटना हुँदा छोरीहरुसहित दशैंं मनाउन जाँदै गरेका खनाल दम्पत्तीसहित ३ जनाको ज्यान गएको थियो ।

दशैंको अवधिभर जम्मा ६० वटा दुर्घटना भएका छन् । ४१ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । जिल्लागत तहमा सबैभन्दा बढी बाँकेमा १२ वटा दुर्घटना भए । रुपन्देहीमा १०, पश्चिम नवलपरासी र दांगमा ८/८, कपिलबस्तुमा ७, बर्दियामा ५, पाल्पा र प्युठानमा ३/३, रोल्पामा २, अर्घाखाँची र गुल्मीमा १/१ वटा दुर्घटना भएका थिए ।

६,७६३ सवारीसाधन कारबाहीमा

यो वर्षको दशैंको समयमा असोज १२ देखि असोज २४ गतेसम्म ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउने प्रदेश ५ का १२ जिल्लामा ६ हजार ७ सय ६३ सवारी साधनलाई कारबाही गरिएको सूचना अधिकारी शाहले जानकारी दिए । उक्त कारबाहीबाट ४० लाख ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल चालकहरु परेका छन् । २३ सय ३९ वटा मोटरसाइकल तथा स्कुटर चालकलाई कारबाही गरिएको छ । जसबाट १४ लाख ५३ हजार ५ सय रुपैया राजस्व संकलन भएको थियो । त्यसैगरी सो अवधिमा १ हजार ५२ बस, १२ सय ७७ जिप÷कार, टेम्पो २ सय २३, ट्रक १४ सय ४९, ट्र्याक्टर ४ सय २३ वटा कारबाहीमा परेका थिए ।

 
 
  
 

You may also like