‘पार्टीभित्रै अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाईं लडेका हैनौं : रामचन्द्र पौडेल

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहंकारी चरित्र मौलाउँदै गएको औंल्याएका छन् । लोकतन्त्र सुदृढिकरणका लागि नेपाली कांग्रेस डडेल्धुराका केही नेताहरुले थालेको अभियानमा समर्थन जनाउँदै उनले पार्टीभित्र आन्तरिक लोकतन्त्रको लडाईमा सधैँ आजाव उठाइरहने स्पष्ट पारेका छन् ।

‘नेपाली कांग्रेसभित्र बढ्दै गएको अहंकारी चरित्रको विरोधमा आन्तरिक लोकतन्त्र सुदृढिकरणका लागि नेपाली कांग्रेस डडेल्धुराका साथीहरूले थालेको अभियानमा साथ साथै रहेको छु’, उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीभित्र आन्तरिक लोकतन्त्रको लडाईमा सधैं हामी साथीहरूको पक्षमा आवाज उठाईरहने छौं ।’

पार्टीमा अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाई नलडेका भन्दै उनले भनेका छन्, ‘हामीले पार्टीमा अधिनायकवाद जन्माउनका लागि प्रजातन्त्रको लडाई लडेका हैनौं । बलिया मिच्दै जाने र निर्धाले कहिल्यै न्याय नपाउनु लोकतन्त्रमा लाजमर्दो विषय हो ।’

डडेल्धुरामा भएको स्थानीय अधिवेशनविरूद्वमा लडाईं निरन्तर राख्न जरूरी रहेको उनले बताएका छन् । ‘डडेल्धुरामा जुन ढंगबाट स्थानीय अधिवेशन भए त्यसविरूद्वमा हाम्रो लडाईं निरन्तर राख्न जरूरी छ’, उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘सत्य र न्यायका पक्षधर साथीहरूलाई नडगमगाई अडिग रहन आग्रह गर्दै साथीहरूलाई न्याय दिलाएरै छोड्ने अठोट लिएका छौं ।’

 
 
  
 

You may also like