चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता

by समतल अनलाइन

काठमाडौँ । दुई दिने नेपाल भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले विदाई गरिन् ।

सीको विदाई कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा मन्त्रीहरु उपस्थित थिए ।

राष्ट्रपति सी भारतको अनौपचारिक भ्रमण सकेर हिजो दिउँसो नेपालको राजकीय औपचारिक भ्रमणमा आएका थिए । सीको भ्रमण चिनियाँ राष्ट्रपति तहबाट भएको २३ वर्षपछिको भ्रमण हो ।

स्वागतको बेलामा जस्तै विदाइको बेलामा पनि कलाकारहरुले साँस्कृतिक झाँकी प्रदर्शन गरे भने नेपाली सेनाको टोलीले सलामी अर्पण गर्‍यो । विमानस्थल परिसरमा नेपाली विद्यार्थी तथा कलाकारहरुले नेपाल र चीनको झण्डा फहराउँदै सीसहितको चिनियाँ टोलीलाई विदाई गरेका थिए ।

भ्रमणका क्रममा सी र प्रधानमन्त्री ओलीबीच दुई देशबीच १७ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रमा चीनले सहयोग गर्नेछ ।

विशेषगरी नेपाल–चीन क्रस बोर्डर रेलको सम्भाव्यता अध्यन गर्ने, लगानीका लागि नेपालको अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच संयन्त्र बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको छ।

दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ। त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ।

नेपाल र चीनबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवर्द्धन , टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

नेपाल रहँदा राष्ट्रपति सीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, नेकपा उच्च तहका नेताहरु, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

सीको स्वागतका लागि काठमाडौँ सिंगारिएको थियो भने सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

 
 
  
 

You may also like