अनाथालयको नाममा ठगी गर्ने पक्राउ

by समतल अनलाइन

कपिलवस्तु । अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा कपिलवस्तुमा दुई जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–१ वैरियामा रकम संकलन गरेको अवस्थामा पश्चिम नवलपरासी घर भएका २२ वर्षीया शान्ति पौडेल र उनकी १७ वर्षीया बहिनी पक्राउ परेका हुन् ।

वैरिया बजारमा रकम संकलन गर्ने क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पक्राउ परेकाहरूबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज काठमाडौंको सहयोग रसिद समेत फेला परेको छ ।

वैरिया बजारमा सहयोग संकलन गर्ने क्रममा स्थानीय व्यवसायीले शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।सम्बन्धित संस्थामा फोन सम्पर्क गरेपछि नक्कली रसिद बनाएर सहयोग संकलन गरेको खुलेको थियो । पक्राउ परेकी पौडेल संस्थामा पूर्व कर्मचारी रहेको र तीन महिनाअघि उनले संस्था छाडेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

 
 
  
 

You may also like