प्रदेशसभामा मलखादको अभावदेखि बुद्ध मुर्ती तोडफोडको विषयमा ध्यानाकर्षण

प्रकाश खनाल
बुटवल, १६ साउन । प्रदेश नं ५ को प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले मलखादको अभाव,बुद्धमूर्ती तोडफोड देखि असारे विकास बारे आवाज उठाएका छन् ।

बिहिबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्ने प्रदेशसभा सदस्यहरुले साउनको १६ गते बितिसक्दा समेत किसानले मलखादको अभाव भोग्नु परेको बताउदै मलखादको उचित प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य विजय बहादुर यादवले किशानलाई मलखाद र विउ विजन समयमै उपलब्ध गराउन पटक÷पटक आवाज उठाए पनि प्रदेश सरकारले समस्या समाधानमा चासो नदिएको गुनासो गरे ।

किसानले खेती लगाउने समयमा सधै मलखाद र विउ विजनको अभाव किन हुन्छ ? भन्ने प्रश्न गर्दै उनले सरकारले मलखादको उचित प्रवन्ध पनि गर्न नसक्ने किसानलाई एक बोरा मल भारतीय बजारबाट ल्याउन पनि नदिएर थप समस्यामा पारेको बताए ।

उनले भने–‘कि सरकारले मलखादको अभाव हुन दिन भएन कि त किसानलाई भारतबाट एक बोरा मल ल्याउन दिनु प¥यो ।’
प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य इन्द्र प्रसाद खरेलले गोदाममा मलखाद भएर पनि किसानले मलखाद नपाएको बताउदै किसानलाई तत्काल मलखाद बितरणको व्यवस्था मिलाउन माग गरे ।

संसद र सरकारमा नेकपाको दुई तिहाई बहुमत हुदा पनि सरकारले काम गरेर देखाउन नसकेको गुनासो गर्दै नेकपाकै प्रदेशसभा सदस्य खरेलले काम गरेर देखाउने अवसर नगुमाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य दिनेश पन्थीले गुल्मीको सत्यवती गाउपालिकामा गएको बाढी पहिरो पिडितहरुको राहत,उद्धार र पुनस्र्थापनामा प्रदेश र संघीय सरकारबाट भएको प्रयास पर्याप्त नभएको भन्दै राहत र पुनस्र्थापना थप ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

अर्का प्रदेशसभा सदस्य पुरनमान बज्राचार्यले सिद्धार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका बुद्धका ५ वटा मुर्तीहरु तोडफोड भएको घटनाका दोषिहरु अझै सम्म पक्राउ पर्न नसकेको भन्दै घटनाको बिषयमा तत्काल छानबिन गरेर दोषिहरुलाई कानूनी दायरामा ल्याउन माग गरे ।

तिलोत्तमामा राखिएका बुद्ध मुर्तीहरुले भैरहवाबाट गाडीमा बुटवल तर्फ आउदै गर्दा साच्चिकै बुद्ध जन्मस्थलमा आएको अनुभुति हुने गरेको स्मरण गराउदै उनले बुद्धमुर्ती तोडफोडको घटनाले अन्राष्ट्रिय जगतमा नराम्रो सन्देश गएको बताए । प्रदेशसभा सदस्य बिरबहादुर रानाले असारे विकासको प्रबृत्तिको अन्त्य गर्नुपर्ने माग गरे ।

असारको अन्त्यमा आएर मात्रै तिब्र रुपमा विकास निर्माणका काम हुने गरेको भन्दै प्रदेशसभा सदस्य रानाले असार भित्रै सक्नुपर्ने काम साउनमा समेत हुदै आएको बताए । बर्षातको समयमा सडक कालोपत्रे गर्नु प्राविधिक हिसावले समेत उपयुक्त नहुने भन्दै उनले सडक कालोपत्रे गर्ने कार्य जेठमै सक्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

पाल्पा दरवार संग्राहालय हाता भित्र हाल धमाधम बिभिन्न संरचनाहरु निर्माण भैरहेको भन्दै उनले पुरातत्व विभागसँगको समन्वय र स्विकृति बिना त्यस्ता संरचना गर्न नहुने बताए । उनले पाल्पाको भैरवस्थान मन्दिरमा चढाइने भेटी तथा दानको रकम अनियमितता हुने गरेको चर्चा चलेको भन्दै त्यस बिषयमा छानबिन गर्न माग गरे ।

प्रदेशसभाको बिहिबारको बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्नो मन्त्रालयले गत आर्थिक बर्षमा भए गरेका कार्यहरुको बारेमा प्रदेशसभालाई जानकारी गराएका थिए ।बिहिबारकै बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सूचना त था संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा संचालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए ।

त्यसैगरी बिहिबारकै प्रदेशसभा बैठकले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले पेश गरेको साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफका लागि प्रदेशसभाको अर्थ,उद्योग तथा पर्यटन समितिमा पठाउने निर्णय गरेको छ ।

 
 
  
 

You may also like