कांग्रेस नेतृत्वलाई गगनको प्रश्न : यस्तै बेहालमा पार्टी चलाइरहने ?

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं १४ औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी गगन थापाले नेतृत्वमाथि प्रश्न उठाउँदै महाधिवेशनको मिति सार्ने बहसमा आपत्ति जनाएका छन् ।

आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत् उनले महाधिवेशनको मिति सार्ने बहसप्रति नै आपत्ति जनाउँदै नेताको आदेशमा कार्यकर्ता कति समय चल्नुपर्ने भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘बस् नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नु पर्ने !, अब नि यस्तै बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’

‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन,’ उनले थपेका छन्, ‘कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने ?’

यसअघि शुक्रबार नै बसेको कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनको मिति सार्नुपर्ने प्रस्ताव अघि सारिएको चर्चा भएको थियो । सोही सन्दर्भमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको मिति नसर्ने बताउँदै सार्नै परे केन्द्रीय कमिटीमा छलफल हुने बताएका थिए ।

 
 
  
 

You may also like