उत्तरी गोरखा पुगेर गृहमन्त्रीले भने, ‘चुम उपत्यकाको खाद्यान्न समस्या समाधान गरिन्छ’

by समतल अनलाइन

गोरखा । गृहमन्त्री बालकृष्ण खाँणले एक महिनादेखि अवरुद्ध चुम उपत्यकाको गोरेटो बाटो खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित सिप्चेतमा पुननिर्माण भएको मानखाङ गुम्बाको उद्घाटनमा पुगेका गृहमन्त्री खाँडले बाटो खुलाउने दायित्व सरकारको भएको बताए । ‘केही समयभित्र खाद्यान्न पनि हेलिकप्टरबाट पुर्‍याउने व्यवस्था मिलाउँछौं,’ उनले भने ।

गुम्बा उद्घाटनमा उत्तरी गोरखा पुगेका गृहमन्त्री बालकृष्ण खाँण समक्ष यहाँका स्थानीयले हिंड्ने बाटो खुलाउनेदेखि मोबाइल सेवा सर्वसुलभ बनाई दिनसम्मका माग राखेका थिए । स्थानीयले बाटो अवरुद्ध हुँदा खाद्यान्नको अभाव भएको समस्या सुनाएका थिए । चमुनुव्री गाउँपालिका अन्तर्गत चुम्चेत र छेकम्पार पुग्ने पैदलमार्ग एक महिनादेखि अवरुद्ध छ । चुम्चेतस्थित लोक्पामा भदौ १ गते खसेको पहिरो अझै रोकिएको छैन । पैदलमार्ग अवरुद्ध हुँदा दुई वडामा खाद्यान्न लगायतका उपभोग्य सामाग्री ढुवानी हुन सकेको छैन ।

शुक्रबार हेलिकप्टरबाट सिप्चेत पुगेका गृहमन्त्रीलाई स्थानीयले तत्काल राहतको व्यवस्था गरिदिन माग गरे । ‘एक महिनादेखि हिँड्ने बाटो छैन, चामल लान पनि सकेनौं, ‘हेलिकप्टरबाट तत्काल खाद्यान्न वितरणको ब्यवस्था गर्न माग गर्‍यौं,’ स्थानीय सेराप गुरुङले सुनाए ।
चुमनुव्री गाउँपालिका–६ र ७ नम्वर वडाको तर्फबाट ज्ञापनपत्र बुझाउँदै घोरेटोबाटोको सम्भाव्यता अध्ययन गरी वैकल्पिक मार्ग खोल्न पनि स्थानीयले माग गरेका छन् । त्यस्तै एनटिसी टावर तत्काल सुचारु गर्नका लागि पनि गृहमन्त्री समक्ष माग गरिएको उनले बताए ।

‘सीडिएमए फोन गडबड भइरहन्छ, सञ्चार अभावले समस्यामा पर्‍यौं,’ गुरुङले भने,‘ एनटिसिको टावर बनिरहेको छ, त्यसलाई चाँडो सुचारु गर्न पहल गरिदिन मन्त्रिलाई भन्यौं ।’ चुम्चेतमा प्रहरी चौकी स्थापनाको पनि माग गरिएको गुरुङले बताए । छेकम्पार र सिर्दिवासको प्रहरी चौकी दूरीका हिसावले टाढा भएकाले गाउँमै प्रहरी चौकी स्थापनाको माग गरिएको स्थानीय बताउँछन् ।

 

 
 
  
 

You may also like