१६ दिनदेखी सिताको शब अस्पतालको शव गृहमा, न्याय कुर्दै आफन्त !

by समतल अनलाइन

बुटवल । रुपन्देहीकी सिता भण्डारीको रहस्यमयी मृत्युको कारण खुल्न नसक्दा १६ दिनदेखी मृत शरिर लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा छ । आफन्तीहरु कहिले प्रहरी चौकी त कहिले सिताको शव भेटिएको उनको आफ्नै घरमा भौतारिरहेछन, तर हालसम्म पनि कुनै कारण नखुल्दा शव अस्पतालबाट उठेको छैन् ।
भदौ २० गते पासो चुँडिएको अवस्थामा कफि कम्पनी स्थित घरको आफ्नै कोठामा मृत फेला परेकी थिइन्, सिता । पोष्टमर्टममा झुण्डिएर मृत्यु भएको देखियो । प्रहरीले रिपोर्टलाई आधार मानेर आत्महत्या ठह¥यो ।
तर, माइतिलाई प्रहरीको ठहर मान्य थिएन । उनीहरुले सीताले आत्महत्या गरेको नभई उनको हत्या गरिएको दाबी गर्दै छानबिनपछि मात्रै शव उठाउने माइती पक्षले अडान लिए । घरमा पति टिका पौडेल र उनकी दिदी विष्णु पौड्यालले हत्या गरेको आरोप लगाउँदै सिताका बाबु हरिप्रसाद भण्डारीले किटानी जाहेरी दिन इलाका प्रहरीमा गए । तर प्रहरीले आफ्नो ठहरबाट टसमस हुन मानेन र उनलाई फर्काइदियो । हत्याको जाहेरी लिन नमानेपछि बाबु हरिप्रसादले घरपक्षका टिका र विष्णुविरुद्ध आत्महत्या दुरुस्साहनको मुद्दा दायर गरेर फर्किए । “तर मलाई यो हत्या नै हो भनेर थाहा थियो । उनले आत्महत्या गर्नु पर्ने कुनै कारण नै थिएनन्,“ उनले भने ।
प्रहरीले हत्याको जाहेरी लिन नमानेपछि माइतिपक्ष आन्दोलनमा उत्रियो । तिजको लहर चलिरहेका समयमा सिताका माइतिपक्ष मृत्युको कारण पत्ता लगाउन प्रहरीलाई दवाव दिन हप्तादिन नै आन्दोलनमा उत्रिनु प¥यो। दवाद बढेपछि बल्ल सिताका पति टिका र उनकी दिदि विष्णुलाई प्रहरीले हिरासतमा लियो ।
बाबु हरिप्रसाद भण्डारीका अनुसार सीता र टीकाबीच २ वर्षअघि मागी विवाह भएको हो। विवाहपछि उनीहरू पाल्पा तानसेनमा दी दरबार रिसोर्ट नामको होटल सञ्चालन गर्दै आएका थिए। उनीहरू दुवै जना तीजलाई भन्दै ६ गते पाल्पाबाट घर तिलोत्तमामा आएका थिए। घरमा एक दिन बसेपछि सीता ७ भदौमा तिलोत्तमा–४ मा रहेको माइती गएकी थिइन्। मृत्यु हुनुभन्दा १ दिन अघि १९ भदौमा श्रीमान् टीकाले भतिजको जन्मदिन छ भनेर सीतालाई घर बोलाएका थिए।
“भतिजको जन्मदिन छ भनेर फोन गरेपछि १९ गते दिउँसो छोरी घर गएकी थिइन्,” सीताका बुवा हरिप्रसाद भण्डारीले भने ।
२० गते बिहान ५ बजेतिर टीकाले ससुरा हरिप्रसादलाई जरुरी काम छ तुरुन्त आफ्नो घर आउनू भनेर बोलाएका थिए। हरिप्रसाद छोरीको घर पुग्दा सीताको मृत्यु भइसकेको थियो। तर टीका घरमा थिएनन्। केही समयपछि उनी मदिरा सेवन गरेर आएको र उनले आफ्नी दिदीका कारण घरका अरू मान्छेको पनि ज्यान खतरामा रहेको बताएका हरिप्रसाद बताउँछन्।
सीताको घाँटीको पासो काटिएको अवस्थामा थियो। सीताको मृत्युको जानकारी परिवारका अरू सदस्यलाई नहुनु, प्रहरी नआउँदै पासो काटिनु, मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ। पोष्टमार्टम रिपोर्टमा आर्थिक चलखेल गरी आत्महत्या बनाइएको माइती पक्षले आरोप लगाएका छन्।
परिवारको दवावपछि घटनामा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) संलग्न भएको छ । प्रहरीले घटनाबारे सत्यतथ्य छानबिन नगरेको आरोप लगाएका माइतिपक्ष सीआईबीको संलग्नताले आसावादी बनेका छन् । तर, मृत्युको वास्तविक कारण पत्ता नलाग्दासम्म भने शव नबुझ्ने उनीहरुले अडान कायमै राखेका छन् । सिताका भाइ सुरज भण्डारीले भने, “हामी कारण पत्ता लगाउन चाहान्छौं । घटनाबारे एउटा निष्कर्ष निस्किएपछि बल्ल शव बुझ्छौं ।“
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले अध्ययन गरिरहेको बताए । “अहिले मृतकको पति, पतिको भाइ र पतिको दिदिलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ।,” कुँवरले बताए।

 
 
  
 

You may also like