एमसीसी उपाध्यक्ष र माधव नेपालबीच डेढ घण्टा छलफल

by समतल अनलाइन

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमीसी) की उपाध्यक्ष फतिमा सुमारले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेकी छन् ।

बिहीबार साँझ संसदीय दलको कार्यालय सिंहदरबारमा भएको डेढ घण्टा लामो छलफलमा नेता नेपालले गठबन्धनका सबै दलसँग छलफल गर्न आग्रह गरेको नेपाल निकट नेता गंगाधर तुलाधर जानकारी दिए । ‘हामीले उहाँहरूसँग अरू दलसँग पनि छलफल गर्नुहोस् भन्यौं । अहिले हामी गठबन्धनको सरकारमा छौं । गठबन्धमा रहेका अरू सबै दलसँग छलफल गर्न भन्यौं । तपाईंहरू यहाँ बसुन्जेलसम्म सबैलाई एमीसीबारे स्पष्ट पार्नुहोस् भन्यौं’, तुलाधरले भने ।

उनका अनुसार एमसीसी उपाध्यक्ष सुमारले सम्झौता नेपालको हितमा रहेको बताएकी थिइन् । उनले एमसीसी पारितका लागि आफूहरूले कुनै दबाव नदिने पनि बताएकी थिइन् ।यसअघि आजै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी थिइन् ।

नेपालको चार दिने भ्रमणका लागि एमसीसीको उच्च नेतृत्व बिहीबार काठमाडौं आइपुगेको हो । नेपाल रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । नेपालमा एमसीसीलाई लिएर चौतर्फी विरोध भइरहेका बेला एमसीसीको उच्च नेतृत्व काठमाडौं आएको हो ।

 
 
  
 

You may also like