पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

by समतल अनलाइन

चितवन। नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ पाँच किलो भन्ने ठाउँमा शुक्रबार बिहान करिब सात बजेतिर पहिरो खसेको छ ।

पहिरोले दुईतर्फी रुपमा नै यातायात अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अविरल वर्षापछि लेदो आएर बाटो थुनिएको स्थानीयले जानकारी दिएका छन् । पानी पर्न नरोकिएका कारण पहिरो हटाउन सकिएको छैन । सडक कार्यालयको लोडर पुगे पनि वर्षा भइरहेकाले काम सुरु हुन नसकेको चितवन प्रहरीले जनाएको छ ।

‘बाटोमा लेदो आएर गाडी रोकिएका छन् । त्यति ठूलो पहिरो त हैन भन्ने छ । तर पानी परेका कारण सफा गर्न सकिएको छैन,’ भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । पहिरो सफा नहुँदासम्म गाडीहरु सुरक्षित ठाउँमा राखेर धैर्य गर्न चितवन प्रहरीले चालकहरुलाई अपिल गरेको छ ।

 
 
  
 

You may also like