एम्नेष्टीका नयाँ सदस्यलाई प्रशिक्षण

by समतल अनलाइन

बुटवल । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह–१२ बुटवलले नयाँ सदस्यहरुलाई प्रशिक्षण गरेको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलको स्थापना दिवसको अवसर पारेर नयाँ सदस्यलाई एम्नेष्टी र यसले गर्ने कामका बारेमा प्रशिक्षण गरिएको हो ।

बुधबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा समुहका पूर्व संयोजक तथा प्रशिक्षक शालिकराम वञ्जाडेले प्रशिक्षण गर्नुभएको थियो । एम्नेष्टी इन्टरनेशनल नेपालको मातहतमा रही काम गर्नेगरी समुह १२ बुटवल २०४६ भदौ १७ गते स्थापना गरिएको थियो ।

एम्नेष्टी इन्टरनेशनलको अप्रिल २८, १९६१ मा बेलायतमा स्थापना भएको थियो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा आवाज उठाएका दुई जनालाई त्यहाको सरकारले थुनामा राखेपछि वेलायतका वकिल पिटर वेन्सनले एक पत्रिकामा आम माफि सम्बन्धि लेख लेख्नुभएको थियो । उक्त लेखका माध्यमबाट वेलायत सहित अन्य देशमा समेत अप्रिल फर एम्नेष्टी (आम माफी) अभियान सुरु भयो । उक्त अभियानमा जोडिएकाहरुले वेल्जियम सम्मेलनको आयोजना गरे र सोही वेल्जियम सम्मेलनले उक्त अभियानलाई मानव अधिकारको क्षेत्रमा वकालत गर्नेगरी एम्नेष्टी इन्टरनेशनल स्थापना गरेका हुन् ।

त्यसपछि अन्य राष्ट्रहरुले पनि एम्नेष्टी इन्टरनेशनललाई मान्यता दिन थाले । त्यतिवेला संयुक्त राष्ट्रसंघ, युनेस्को, युरोपियन युनियन लगायतका देशहरुले एम्नेष्टीलाई सल्लाहकारको रुपमा समेत राखेका थिए ।
नेपालमा भने एम्नेष्टी सन् १९७९ मा भित्रिएको हो । नेपालमा नुतन थपलियाले सन् १९७९ मा एम्नेष्टी इन्टरनेशनल नेपाल स्थापना गरेपछि विविध कारणले १९८२ मा मान्यता खारेज भयो । पछि नेपालको राजनैतिक व्यबस्था परिवर्तन भएर प्रजातन्त्र पुनःस्थापना भएपछि सन् १९९० मा कृष्ण पहाडीको नेतृत्वमा एम्नेष्टी इन्टरनेशनल नेपाल पनि पुनःस्थापना गरिएको थियो । पछि सिके राउतको अभिव्यक्तिको विषयमा विवाद भएपछि उहाँले एम्नेष्टीबाट राजीनामा गर्नुभयो ।

हाल नेपाल सहित ८० हाराहारी देशमा एम्नेष्टी इन्टरनेशनलका शाखा छन् । त्यस्तै १५० बढी देशका नागरिकहरु यसका सदस्य छन् । ७ वटा देशमा प्रादेशिक कार्यालय र अन्तर्राष्ट्रिय सचिवालय छन् । त्यस्तै यसका विश्वमा ७ हजार ५ सय बढी समुह छन् । एम्नेष्टीले मुख्यतया कुनैपनि विषयमा अन्तर्राष्ट्रिय एक्यवद्धता कायम गर्ने गरेको छ । यो विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था हो । त्यस्तै नेपालमा एम्नेष्टी इन्टरनेशनल नेपाल मातहत सरदर ८०÷८५ वटा समुह छन् भने ६ हजारको हाराहारी सदस्य संख्या छ ।
यति ठूलो ईतिहास बोकेको संस्थाको बारेमा नयाँ सदस्यहरुलाई जानकारी गराउनको लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समुहकी संयोजक शरीता भारीले बताउनु भयो । उहाँले अरु संस्थाले जस्तो अनुसन्धान बिना नै धारणा व्यक्त नगर्ने भएकाले एम्नेष्टीले केही गर्दैनकी जस्तो देखिए पनि त्यस्तो नभएको र एम्नेष्टीले धेरै परिणाम दिएको दावी गर्नुभयो ।

कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपाल निर्माणाधिन महिला समुह बुटवलकी संयोजक जानकी नेपाल, राधा ज्ञवाली, कार्यक्रम संयोजक पूर्णबहादुर ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम सचिव बिमल बस्नेतको सञ्चालनमा भएको थियो ।

दिवसमा जनचेतनामुलक प्रदर्शन
बलपूर्वक वेपत्ता पारिएको पिडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुटवलमा जनचेतनामुलक प्रदर्शन गरिएको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह–१२ बुटवल र निर्माणधिन महिला समुह बुटवलले संयुक्त रुपमा जनचेतना मुलक प्रदर्शन गरेका हुन् । कार्यक्रममा दुबै समुहका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like