बाढी – पहिरो र डुवानमा परी जेठयता ९१ जनाको मृत्यु , २८ जना बेपत्ता

by समतल अनलाइन

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी जेठ ३० गतेदेखि हिजो (शनिबार) दिउँसोसम्म ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ महिला, १० बालक र १२ बालिका रहेका प्रहरीले जनाएको छ ।
बाढी–पहिरो र डुबानमा परी उक्त अवधिमा ११६ जना घाइते भएका छन् । तीमध्ये ६० जना पुरुष, ३२ महिला, १४ बालक र १० बालिका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढी पहिरोमा २८ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ महिला, ४ बालक र १ बालिका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढी पहिरोमा परेका १,२७५ जनाको विभिन्न ठाउँबाट उद्दार गरी उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

बाढीको कारण ३ हजार १८० वटा घर डुबानमा परेका छन् । ९ सय घर, १५३ गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । उक्त अवधिमा भएका जम्मा १,१३० वटा विपद्का घटनाबाट १ हजार २०९ वटा घर परिवारका ५ हजार ९२४ जना मानिस विस्थापित भएका प्रहरीले जानकारी दिएको छ ।

बाढीले सिरहामा दुई दर्जन घर डुबान
अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेका हुन् ।

घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिए । स्थानीय तहले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप छ ।

यसैगरी मैनावती खोलामा आएको बाढीले गोलबजार नगरपालिका–९ का दुई घर डुवानमा परेको छ भने बलक्वास्थित मुस्लिम समुदायको मृत्यु संस्कार गर्ने स्थान (कबरिस्तान) बगाएकोे छ । बाढीले मदर्सामा समेत क्षति पुर्‍याएको छ ।

त्यसैगरी धनगढीमाई नगरपालिका–६ मा बाढीको कारण एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए । वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौं पसल जलमग्न भएको छ । पूर्वापश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पस्ने गरेकोे स्थानीयवासी रामनारायण ठाकुरले बताए ।

 
 
  
 

You may also like