अब पाँच वर्ष मात्र सक्रिय राजनीतिमा रहन्छु : माधव नेपाल

by समतल अनलाइन

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू जीन्दगीभर पार्टी पदमा नबस्ने बताएका छन् । उनले आफ्नो पार्टीले युवापुस्तालाई अगाडि बढाउने भन्दै आफू जीन्दगीभर पदमा बस्न नचाहेको बताए । ‘अबको चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्नेछु । जिन्दगीभरि लौरो टेक्दासम्म पदमा बस्ने चाहाना छैन’ नेता नेपालको भनाइ छ ।

२००९ फागुनमा जन्मिएका नेपालले भर्खरै नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । निर्वाचन आयोगले नयाँ दललाई मान्यता दिएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बुढो हुँदासम्म पदमा बसिरहने आफ्नो चाहना नभएको बताएका हुन् ।

आजीवन राजनीति नगर्ने भन्दै उनले अघि भने, ‘मेरो मोटो कुरा के छ आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु ।’ यद्यपि पार्टीका नेताहरुले अहिले नै त्यसो नभन्नुस् है भनेको उनले सुनाए ।

नेकपा एमालेमा रहँदा पनि केपी ओलीलाई विदा गरेर युवा पुस्तालाई नेतृत्व लिन आग्रह गरेको अध्यक्ष नेपालले बताए । ‘मैले त अहिले नै भनेको थिए, केपी ओलीलाई विदा गरेर युवा पुस्ताले सम्हालोस् । सम्हाले भयो, मेरो सहयोग रहन्छ’ उनले भने ।

 
 
  
 

You may also like