शाहीको दाबी : म स्वतन्त्र हुँ, कारबाहीको औचित्य छैन

by समतल अनलाइन

बुटवल। नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीय मन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको दाबी गरेका छन् । उनले नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडी बढाएको कुरा कानूनी र राजनीतिक रुपमा कुनै औचित्य नरहेको बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले निर्वाचनमा हृदय त्रिपाठीको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सुर्य चिन्हको प्रयोग गरि स्वतन्त्र रुपमै चुनाव जितेको दाबी गरे । नवलपरासीबाट चुनाव जितेका सांसद शाहीले भने “मैले चुनावमा मात्रै चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु । मैले नेकपा एमालेको सदस्यता लिएको छैन केवल चुनावी सम्झौता मात्रै थियो ।“ शाहीले राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार एमाले संसदीय दलको सदस्य नभएको स्पष्ट पारे ।

यस्तै, नेकपा एमाले लुम्बिनीले प्रदेशसभा विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने बताएको छ । रिपोर्टस क्लब नेपाल, लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरुद्ध गर्ने बताएका हुन् ।
उनले भने “सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउदा पनि सभामुखले राजनीतिक पुर्वाग्रह राख्दै कार्वाही नहुनु विधि सम्वत छैन । हाम्रा सासंदलाई कार्वाही नहुँदासम्म संसद अवरुद्ध गर्छौं । अजय शाहीले एमाले संसदीय दलका निर्णयहरुलाई हालसम्म मान्दै आएको बताउँदै श्रेष्ठले एमाले सरकारबाट बाहिरीएपछि गठबन्धनको सहयताले स्वतन्त्रको नाम जप्दै हिड्नु गलत रहेको दाबी गरे ।

लुम्बिनी प्रदेश सभा भित्रको किचलो छिटो भन्दा छिटो समाधान गर्न कानूनविद्हरुले सभामूखलाई सुझाव दिएका छन् । साक्षात्कारमा बोल्दै कानूनविद्हरुले संविधानको राम्ररी अध्ययन गरि छिटो छरितो निकास दिन सभामुखलाई सुझाव दिएका हुन् ।

सो कार्यक्रममा आफ्ना तर्कहरु राख्दै कानूनविद महेन्द्र पाण्डेले अजय शाही हृदेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समुहबाट चुनावमा तत्कालिन नेकपासंग तालमेल गरेर निर्वाचित भएको तर हैसियतका हिसावले र सहमतीका बुदाको हिसावले स्वतन्त्र रहेको बताए । उनले स्वतन्त्र हैसियतबाट उठेकोले एमालेसंग कुनै नाता र साईनो नभएकाले व्यवहारीक तथा कानूनी हिसावले एमालेले दाबी गर्न नमिल्ने तर्क गरे । यस्तै उनले बाम गठबन्धनबाट चुनाव जितेकी सांसद विमला वलीले आफ्नो दल रोज्ने अधिकार संविधानले दिएको बताए ।

यस्तै, अर्का कानूननिद् नगेन्द्र बस्यालले अशय शाहीले सुर्य चिन्हबाट चुनाव जितेको बताउँदै एमालेले कारबाही गर्न स्वभाविक रहेको दाबी गरे । स्वतन्त्र भनिएपनि एमालेको सुर्य चिन्हबाट चुनाव जितेकाले स्वतन्त्र भन्न नपाउने उनको भनाई छ । एमालेले आवश्यक क्रियाकलाप पुरा गरि संसद सचिवालयमा पठाएको हो भने सभामुखले तत्काल आवश्यक कारबाही अगाडी बढाउनु पर्ने धारणा राखे । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

 
 
  
 

You may also like