सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिंदै

काठमाडौ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज (आइतबार) सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको थियो । कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

सत्ता गठबन्धनले शान्ति प्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । यही न्यूनतम साझा कार्यक्रमलाई संयुक्त घोषणापत्रका रुपमा कार्यान्वयन गर्ने गरी सत्ता गठबन्धका दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएर लागु गर्ने तयारी गरेका हुन् ।

न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरणसहित ११ बुँदा समेटिएका छन् ।

शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालीक राहत, पुनर्निर्माण तथा पुनः स्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध समेटिएको कार्यदलले जनाएको छ ।

 
 
  
 

You may also like