सांसद महतको व्यङ्ग्य : पति नभए पत्नीलाई मन्त्री बनाऔ, टन्न पैसा हुनुपर्ने शर्त राखौं

काठमाडौं । माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकार गठनका लागि मन्त्री छान्न समस्या परेको भन्दै व्यङ्ग्य गरेका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै जुम्लाका सांसद महतले मन्त्री बन्नका लागि पार्टीका नेतालाई समस्या परेको व्यङ्ग्य गरेका हुन् ।

उनले मन्त्री बन्नका लागि टन्न पैसा कमाएको हुनुपर्ने, पहिले नै दुई पटक मन्त्री भएकै हुनुपर्ने, भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने, पार्टी नेतृत्वलाई घुर्की, धम्की, धाक, दिनसक्ने, गुटमा आबद्धता भएकै हुनुपर्ने, भरसक पति र पति नभए पत्नीलाई मन्त्री बनाउन भन्दै व्यङ्ग्य गरे ।

उनले भने, ‘नेतृत्वको वरिपरी घुमेर खुसी बनाउन सक्ने, भष्ट्राचार र कमिसन आउने सबै दुलाहरु थाहा पाउने क्षमता भएकोलाई मन्त्री बनाउने त्यो पनि राखौं । यो संसदमा नियमित नआउने, यसो झल्याकझुलुक आउने सांसदलाई पनि मन्त्री बनाउने क्राइट एरियामा राखौं ।’

उनले आफू माओवादी आन्दोलनबाट आएको बताउँदै कांग्रेस र एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको भन्ने गरेकोमा चित्त नबुझ्ने बताए । उनले राजाले शासन गर्दा कांग्रेस र एमालेका नेतालाई कालापहाड पुर्‍याएको घटना नर्बिसन आग्रह गरे ।

 
 
  
 

You may also like