काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भू–भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसमविदले जनाएका छन् ।
आज (मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती, गण्डकी र लुम्विनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।