रोजगारीमा जानेको पीडा: टिकट नपाउँदा खाडीमै दसैं

by समतल अनलाइन

काठमाडौँ । लमजुङका ३५ वर्षीय रितेश लोहनीले स्वदेशमा दसैं नमनाएको १३ वर्ष भयो । उनी साउदी अरबको व्यापारिक सहर जेद्दामा कार्पेन्टरको काम गर्छन् । ६० कटेका बुबाआमा, श्रीमती र १० वर्षकी छोरी बेंसीसहरमा बस्छन् । उनीहरू हरेक वर्ष रितेशको पर्खाइमा हुन्छन् । ‘साउदीमा पाइला राखेदेखि टीका लगाउन पाइएको छैन,’ उनले भने, ‘अहिले त बानी परिसक्यो ।’

मुस्लिम धर्मावलम्बीको प्रमुख तीर्थस्थल मक्का–मदिना रहेका मुलुकमा कार्यरत लोहनीले आफ्नो संस्कृति, चाडपर्व र धर्मको महत्त्व साउदीमै थाहा पाए । ‘मलाई नेपालमा रहँदा आफ्नो चाडपर्व लहडमै मनाइएछ भन्ने लाग्यो । यसले परिवार, आफन्त र साथीभाइबीचको सम्बन्ध कसरी बलियोसँग जोड्छ भन्ने साउदीमै आएर थाहा पाएँ,’ उनले भने, ‘रैथाने संस्कृति र पर्वको महत्त्व थाहा पाउन साउदीमै आउनु पर्दोरहेछ ।’ अहिले दसैंतिहार मान्न मन हुँदा टिकट नपाएर घर फर्कन नपाएको रितेशले बताए ।

‘टिकटै पाइँदैन,’ उनले भने, ‘साउदीमा रहनेहरू सबै दसैंतिहार मान्न दौडिने गर्छन् । हामीलाई टिकट पाउनै मुस्किल छ ।’ साउदीको दमामबाट हिमालयन एयरलाइन्सले मात्रै काठमाडौं सिधा उडान गर्छ । जेद्दाबाट दमाम आइपुग्नै १३ सय ६० किमि पार गर्नुपर्छ । हिमालयनले तीन वर्षअघि मात्रै सेवा सुरु गरेको हो । ‘यसपटक भने जसरी पनि जाने योजना बनाएका थिएँ । बिदा पनि अक्टोबर ५ देखि नोभेम्बर ५ सम्म मागेको थिएँ । कम्पनीले निकैपछि मात्रै स्वीकृत गर्‍यो । तर टिकट खोजी गर्दा पाउनै सकिएन,’ उनले भने, ‘घरमा टिकट नपाएको खबर सुनाउँदा सबै दुःखी भए ।’

खाडी तथा मलेसियाबाट आउने जहाज सीमित भएको र यात्रु चाप बढी हुने भएको फाइदा उठाउँदै हवाई कम्पनीले दोब्बरसम्म भाडा बढाउने गरेका छन् ।

थोरै जहाज भएकै कारण कामदार भनेजति पैसा तिर्न मागेजति पैसा कतार, यूएई, ओमन र मलेसियाबाट मात्रै नेपालमा सिधा उडान छ । साउदी, कुवेत, बहराइनबाट छैन । ‘कनेक्टिङ जहाजमा आउनुपर्छ । ७ घण्टा ट्रान्जिट बस्नुपर्छ,’ कुवेतमा कार्यरत सिन्धुपाल्चोकका हरिकृष्ण न्यौपानेले भने, ‘तीन महिनाअघि काट्दा पनि ७८ हजार रुपैयाँमा एकतर्फी टिकट किन्नुपर्‍यो ।’

यस वर्ष गन्तव्य मुलुकबाट स्वदेश आउनेहरूको सबभन्दा बढी चाप असोज १ देखि १६ सम्म देखिएको छ । कम्पनीले ३० दिन मात्रै दिने भएकाले कामदारले सकभर दसैंतिहार मनाउने गरी बिदा लिने गर्छन् । यो बेला नेपाल आउन कतारबाट ५३ हजार, साउदीबाट ७२ हजार, यूएईबाट ४० हजार, कुवेतबाट १ लाख १७ हजार, ओमनबाट ६० हजार र मलेसियाबाट ७१ हजार रुपैयाँ हवाई भाडा परिरहेको छ ।

पर्व मनाएर फर्किने बेला पनि टिकटको मूल्य उत्तिकै अकासिन्छ । ‘दसैंतिहार मनाउन आउँदा २/३ महिनाको तलब नै सकिन्छ,’ यूएईमा कार्यरत झापाका दीपक सुनुवारले भने, ‘त्यही भएर पुसतिर नेपाल आउने–जाने गरेको छु ।’

त्रिभुवन विमानस्थलका अनुसार दैनिक झन्डै सयवटा उडान हुन्छन् । सन् २०१८ मा मात्रै विमानस्थलले झन्डै ७१ लाख ९० हजार यात्रुलाई सेवा दिएको थियो । यसको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जाने कामदार हुन् । ती देशबाट प्रमुख रूपमा नेपाल एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, जेट एयरवेज, एयर इन्डियाले नेपालमा यात्रु ओसार्छन् ।

सन् २०१८ मा आएका नेपाली यात्रुमध्ये नेपाल एयरलाइन्सले २७ प्रतिशत, कतार एयरवेजले २९ प्रतिशत, फ्लाई दुबईले १५, एयर इन्डियाले १३ प्रतिशत बोकेका थिए । गत अप्रिलबाट जेट एयरवेज बन्द भएपछि कामदारलाई टिकट पाउन झन् समस्या पर्न थालेको छ । यात्रुको चाप बढे पनि यी हवाई कम्पनीले उडान थपेका छैनन् ।

‘लागेको जति पैसा तिर्छु भन्दा पनि टिकट छैन,’ कतारमा कार्यरत गोरखाका उमेश भट्टले भने, ‘दसैंपछिको मात्रै टिकट देखाइरहेको छ । दसैंको टिकट तीन महिना अगाडि नै बुक भइसक्छ ।’ घर फिर्न नपाएपछि क्याम्पमै खसी काटेर रमाइलो गर्ने योजना बनाएको उनले बताए । ‘मन बुझाउन दसैं मनाएजस्तो गर्ने हो । यहाँको दसैं नुनबिनाको तरकारी जस्तै हो,’ उनले भने । (कान्तिपुरबाट)

 
 
  
 

You may also like