नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा

by समतल अनलाइन

दसैंको छैटौं दिन आज नवदुर्गाका नौ वटा रूप मध्ये ‘कात्यायनी’ स्वरूपा दुर्गाको पूजा आराधना तथा दर्शन गरेर मनाइँदैछ। पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनी’ स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन् ।

यस दिन पनि घटस्थापनाका दिन राखिएका जमरामा जलशेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ।

पौराणिक मान्यता अनुसार ‘कत’ नामका महर्षिका पुत्र कात्य भए र तिनै कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन जन्मिए । कात्यायनले घोर तपस्या गरी जन्माएकी पुत्री कात्यायनी देवीका नामले प्रसिद्ध भइन् । महिषासुर वध गरेकाले उनी ‘महिषासुरमर्दिनी’ नामले पनि चिनिन्छिन् ।

मस्तकमा अर्धचन्द्र धारण गरेकी, नाना प्रकारका अलंकार या आभूषणबाट सुशोभित भएकी, चार हात भएकी, दाहिने हातमा वर तथा अभय मुद्रा प्रदर्शित गरिरहेकी तथा देब्रे हातमा पद्म, पुष्प तथा तरबार धारण गरेकी स्वरूपमा कात्यायनी देवीलाई मानिन्छ।

 
 
  
 

You may also like