एमाले तिलोत्तमाद्वारा साउन १५ भित्र सदस्यता नवीकरण गर्न आह्वान

तिलोत्तमा।नेकपा एमाले तिलोत्तमा नगर कमिटीले यही साउन १५ गतेभित्र संगठीत सदस्यता नवीकरण गर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ । नगर कमिटीको मंगलबार बसेको बैठकले सदस्यता नवीकरणका लागि नगरका १७ वटै वडामा कार्यदल बनाउँदै १५ गतेभित्र नवीकरण सक्न भनेको हो ।
यसका लागि सबै वडामा जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरुले समन्वय गर्ने निर्णय पनि बैठकले गरेको एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले जानकारी दिए । बदलिंदो अवस्थामा एमाले तत्कालीन नेकपाको नयाँ स्वरुपमा पुनर्गठित भएको र यसैलाई आत्मसाथ गर्दै सदस्यता नवीकरणमा केन्द्रित हुन पनि बैठकले सम्बद्ध सबैलाई आह्वान गरेको उनले बताए ।
बैठकलाई संबोधन गर्दै पार्टीका रुपन्देही जिल्ला संयोजक शिवराज सुवेदीले मुलुकको विद्यमान समसामयिक राजनीतिक अवस्थाका बारेमा चर्चा गर्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । केन्द्रमा विवाद भएपनि त्यसको असर जनतामा नपरेको र जनतामा एमाले एक ढिक्का रहेको भन्दै उनले जनभावना अनुसार अघि बढ्न पार्टी पंक्ति सदा तत्पर रहेको पनि बताए ।
बैठकमा जिल्ला कमिटीका सहसंयोजक तेजेन्द्र केसी, सचिव विश्वराज बराल, पार्टी नेताहरु यज्ञ गैरे, वासुदेव घिमिरे, श्याम खरेल, बुद्धिसागर भट्टराई, ज्येष्ठ कम्युनिष्ट मन्चका लुम्बिनी प्रदेश अध्यक्ष अर्जुन ज्ञवाली, एमाले तिलोत्तमा नगर सचिव मिनप्रसाद पोखरेल लगायतले संगठीत सदस्या नवीकरणसँगै पार्टी जनतामाझ जानुपर्ने र आगामी निर्वाचनको तयारीमा समेत जुट्नुपर्नेमा जोड दिएका थिए ।

 
 
  
 

You may also like