प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौं। सरकारले प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै (आइतबार) विश्वासको मत लिने गरी संसद सचिवालयमा पत्र दर्ता भएको हो ।

संसद सचिवालय स्रोतले प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासका मत लिनका लागि सरकारका तर्फबाट पत्र दर्ता भएको पुष्टि गरेको छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

संसद सचिवालय स्रोतका अनुसार सोही व्यवस्था बमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

पुनः स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ । बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बैठकमा सरकारका तर्फबाट संसद सचिवालयमा पेश भएको उक्त पत्र कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गर्दैछन् । बैठकले प्रतिनिधि सभा बैठकका अरू एजेण्डाहरू पनि तय गर्नेछ ।

 

 
 
  
 

You may also like