जसपाका पाँच सांसदले छाडे महन्थको साथ, उपेन्द्र पक्षको वैठकमा सहभागी

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) मा थप पाँच सांसद उपेन्द्र यादव समूहको बैठकमा सहभागी भएका छन् ।
यसअघि महन्थ ठाकुर समूहमा रहेका पाँच सांसद शनिबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएको एक नेताले जानकारी दिएका छन् ।

उनका अनुसार अरु थप दुई जना आउने तयारीमा छन् । शनिबारको बैठकमा प्रमोद साह, रुही नाज, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल उपस्थित थिए । उनीहरु अब यादव समूहमै रहने छन् । जनता समाजवादी विभाजनतर्फ जाँदै गर्दा सांसद र नेता तानातान तीव्र भएको छ । पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा तान्न थालेको हो ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा जाने क्रममा ठाकुर समूहले करिब २० जना सांसदहरु आफ्नो पक्षमा तानेको थियो । तर सर्वोच्चको आदेशबाट ठाकुर समूह ओली सरकारबाट बाहिरिएसँगै यादव पक्षले सांसदहरुलाई तान्न थालेको हो । पछिल्लो पटक ओली पनि सत्ताबाट बाहिरिएपछि उपेन्द्र यादव समूह देउवा नेतृत्वको सरकारमा जाने तयारीमा छ ।

 
 
  
 

You may also like