चीनले नेपाललाई थप १६ लाख डोज खोप दिने

काठमाडौं। चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्दै थप खोप सहयोगबारे जानकारी गराएकी हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शुक्रबार) भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले चीन सरकारद्वारा नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो । नेपाल सरकारले पनि चीनबाट ४० लाख डोज खोप खरिद गरेको छ ।

यसअघि अमेरिकाले एक डोज मात्रै लगाए हुने जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । त्यस्तै नेपालले कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । नेपालले भारतबाट २० लाख डोज खरिद गरेकोमा हालसम्म १० लाख डोज मात्रै आएको छ ।

 

 
 
  
 

You may also like