३३ औ झरना कप : फर्साटिकर फाईनलमा

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा जारी झरना रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगिताक‍ो ३३ औ संस्करणमा बुधबार भएको दोस्रो सेमीफाईनल खेलमा जुगेडी एफि, जुगेडी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन फर्साटिकर युवा क्लब फाईनलमा स्थान बनाएको छ ।

कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेलमैदानमा भएको खेलको ५ औ मिनेटमा रोशन पहारीको प्रहार आकासियो । खेलको २० औ मिनेटमा फर्साटिकरका सुरज हमालले डिफेन्सलाई छकाएर डिबक्सबाट गरेको प्रहार जुगेडीका गोलकिपर रोशन थापाले विफल तुल्याईदिए । दुई जना विदेशी खेलाडी र आधा दर्जन राष्ट्रिय खेलाडीसहित मैदान उत्रेको फर्साटिकरलाई जुगेडीले पहिलो हाफ बराबरीमा रोकेको थियो ।

खेलको ४३ औ मिनेटमा फर्साटिकरका एलेक्सको लामो पासलाई फोफानाले गोलमा परिणत गराए । तर अग्रता धेरै बेर टिकेन । खेलको ४८ औ मिनेटमा जुगेडीका अनिल राना मगरले बराबरी गोल गरे । फर्साटिकरका सुजन रानाले खेलको ६५ औ मिनेटमा विजयी गोल गरे । फोफानाको क्रसमा रानाले गोल गरेका थिए । खेलमा का फर्साटिकरका विशु थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । फाईनल खेल असाज १८ गते हुने खेल संयोजक किशोर पौडेलले बताए ।

झरना स्पोर्ट्स क्लबको आयोजनामा असोज २ गतेदेखि शुरु प्रतियोगितामा १६ टिमले भाग लिएका छन । अध्यक्ष लोक पुनले हरेक वर्ष हिन्दु धर्मावलम्बीहरुको पर्व दशैको अवसरमा आयोजना हुँदै आएको बताए । खेलकुदसंगै तिलोत्तमा नगरमा सामाजिक काममा अग्रसर रहेको क्लबले युवा खेलाडी उत्पादन गर्दै आएको छ। प्रतियोगितामा उपाधि विजेताले नगद ३ लाख १० हजार, उपविजेता टिमले १ लाख ५५ हजार नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

हरेक वर्ष खेलमा नया र आकर्षक प्रस्तुति दिदै आएको क्लबले गतवर्ष महिला रेफ्रि भित्राएको थियो भने यो वर्षसमेत नया ल्याउने योजना ल्याउने बताए । क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेलले प्रतियोगिता आयोजनामा करीब १८ लाख खर्च हुने अनुमान रहेको बताए । गतवर्ष फर्सा्टिकर विजेता रहेको थियो ।

 
 
  
 

You may also like