“विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको २०८ औं भानु जयन्ती” कार्यक्रम सम्पन्न

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले यस पटक २०८ औं भानु जयन्तीको कार्यक्रम भर्चुअल माध्यमद्वारा भब्य रुपमा सम्पन्न गरेको छन । नेपाल लगायत विश्वका विभिन्न देशहरुबाट करीब ५ दर्जन श्रष्टाहरु सहभागी भएको उक्त समारोह ०७८साल असार २५ गते सुक्रबार नेपालको समय अपरान्ह ३ बजे देखि ७ बजे सम्म निरन्तर चलेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै प्रसिध्द आख्यानकार/ साहित्यकार कृष्ण धराबासीले आजको सन्दर्भमा आदिकविको महत्व अनि गरिमाको बारेमा चर्चा गर्नु भयो,नेपाली साहित्यको बिकासक्रममा भानु भक्तनै कसरी आदिकवि हुनु भयो भनेर फेहरिस्त प्रस्तुत गर्दै वहाँले भानु आदिकवि मात्र नभएर देशको माटो र संस्कृति संग गांसिएका कालजयी श्रष्टा भएको कुरा ब्यक्त गर्नु भयो ।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएका विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईले भानु जयन्ती आजको परिवेशमा फरक ढंगले मनाउंदा केही नयाँपन आएको बिचार राख्दै आदिकविले नेपाली भाषा, साहित्यमा दिएको योगदानको चर्चा गर्नु भयो । भक्ति धारा मार्फत अत्यन्तै सुन्दर काब्यको सृजना गर्ने भानु राष्ट्रलाई भाषिक र सांस्कृतिक रूपमा एकीकरण गर्ने बिराट छवि भएको आफ्नो मत राख्नु भयो, प्रसाईले भानुलाई चिनाउने मोतीराम भट्टको चर्चा गर्दै भानु नेपाली भाषाका मानस पिता भएको कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रममा पूर्व मन्त्री हरिप्रसाद न्यौपानेको बिशेष अतिथिको रुपमा उपस्थिती थियो।

यसैगरि विशेष अतिथी पूर्व राजदूत प्रह्लाद्कुमार प्रसाईले भानु आफ्नो देश,नेपाली जातिमा गर्व गर्ने महापुरुष हुन, रामायण रचना गर्दा उनले वाल्मीकि रामायणलाई नेपालीपन र ढांचामा प्रस्तुत गरेर संस्कृतको बोलवाला भएको नेपाली समाजमा भाषा , साहित्यको उत्थानमा क्रान्तिनै गरेको टिप्पणी गर्नु भयो।

संस्थाकी वरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले प्रमुख अतिथिको परिचय गर्ने क्रममा वहाँको सरल , निर्मल अनि सादगी व्याक्तित्वको चर्चा गर्नु भयो , धराबासी लिला लेखनका हस्ती एव दर्जनौं अब्बल कृति दिने सर्जक भनेर आफ्नो अभिमत राख्नु भयो , धराबासीको ऐतिहासिक पृष्ठभूमीसंग जोडिएको सुन्दर प्रसङ्गहरु जोडेर उप्रेतीज्यूले वहाँलाई कर्मयोगीको संज्ञा दिनु भयो ।

यसै गरि विशेष अतिथी एवम विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान युरोप च्याप्टरका अध्यक्ष खगेन्द्र पाठकले बिदेशमा बसेर पनि आफ्नो भाषा संस्कृतिको खातिर आफु निरन्तर लागि परेको आफ्नो भनाई राख्दै आफ्ना केही मुक्तकहरु वाचन गर्नु भएको थियो ।

अर्का बिशेष अतिथी प्राध्यापक फणीन्द्रराज निरौलाले कार्यक्रममा वाचित कविताहरुको संक्षिप्त समीक्षा प्रस्तुत गर्नु भयो नेपाली कविताहरु उम्दा कोटीका फरक आयम र स्वाद बोकेर आएका छ्न भन्दै सर्जकले छन्द कविताको अध्यनमा समेत जोड दिनु पर्ने कुरा राख्नु भयो।
यस्तै विशेष अतिथि प्राज्ञ एवम वरिष्ठ साहित्यकार उन्नती बोहरा शीलाले आफ्ना सुन्दर दुई गीतहरु गाएर कार्यक्रममा नयाँ मिठास , रौनक एवम उर्जा छर्नु भएको थियो।

कार्यक्रममा विशेष अतिथी आदरणीय बयोबृध्द लोक गायिका पम्फा सिटौलाको स्वरमा ओजपूर्ण, सुमधुर संगिनी गीत प्रस्तुत हुंदा गीतले सबैलाई मन्त्रमुग्ध बनाएको थियो।९१ बर्षीय लोक गायिकाको परिचय संस्थाकी सदस्य राधिका दाहालले प्रस्तुत गर्नु भयो।
यसै गरि वरिष्ठ साहित्यकार एवम विशेष अतिथी बशुश्री पान्डेज्यूले पनि आफ्नो कविता प्रस्तुत गर्नु भयो ।

संस्थाका उपाध्यक्ष तेजेन्द्र प्रसाईले आफ्नो मन्तब्य राख्दै भानु सम्बन्धी कविता प्रस्तुत गर्नु भयो। कार्यक्रममा संस्थाका महासचिव पुकार तिमल्सिनाले सम्पूर्ण श्रष्टा, अतिथी अनि संस्थाका पदाधिकारीहरुलाइ स्वागत गर्दै आफ्नो मन्तब्य राख्नु भएको थियो। विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान युरोप च्याप्टरकी महासचिव मन्जु भन्डारीले भाषा प्रतिको आफ्नो अनुरागलाई उजागर गर्दै कविता प्रस्तुत गर्नु भयो। यसै गरि संस्थाकी सचिव कोपीला शिवाकोटीले एउटा राष्ट्रिय गीत प्रस्तुत गर्नु भयो।

कार्यक्रम नेपाल लगायत विश्वभरिबाट सृजना वाचन गर्ने श्रष्टाहरुको कारण अरु रोचक बन्न गएको थियो। कविता/मुक्तकहरु कुनै भानुमा केन्द्रित थिए भने कुनै स्वतन्त्र रूपमा लेखिएका थिए, कुनै छन्दमा थिए भने कुनै स्वछन्द रुपमा प्रस्तुत गरिएका थिए, कुनैमा घर देश र कुनैमा परदेशका आवाजहरु मुखरित भएका थिए, त्यस्तै कुनै सर्जकले भानुभक्तको रामायण बाट समेत श्लोक बाचन गर्नु भएको थियो। रचना वाचन गर्ने बरिष्ठ कविहरु निर्मलरमण पराजुली, भुवन शिवाकोटी चौघरे,डा. गोपाल पौडेल मन्डने,गंगा लिगल,खेमराज निरौला,ललिता दोषी,सुशीला ढकाल अधिकारी,राधिका दाहाल,सीता अर्चना पौडेल,मन्जु बिमली,दुर्गा सिटौला, रश्मि रिमाल,दुश्यन्त भट्टराई,मोहन राज,पवन प्रसाईं,परु तिमल्सिना,बिरबाहादुर लोहनी,कल्पना त्रिपाठी,कृष्णराज डीसी, क्षितिज प्रसाईं,उज्ज्वल निरौला र बालकवि हिमानी उप्रेती हुनुहुन्थ्यो!कार्यक्रममा पन्डित निलहरी घिमिरे,सीता प्रसाईं,कमलराज प्रसाईं,सुमित्रा उप्रेती,चेतन सिटौला, लीला सिटौला, फुलकुमारी ढकालज्यूको पनि उपस्थिती रहेको थियो।

संस्थाका सल्लाहाकर किशोर उप्रेतीले कार्यक्रमको व्याबस्थापन सहज रुपमा मिलाउनु भएको थियो। प्राबिधिक एवम अन्य विविध पक्ष चुस्त, दुरुस्त बनाउन संस्थाका सह कोषाध्यक्ष बिनोद कुमार श्रेष्ठ र सदस्य तिर्थराज दाहाल एवम रोटरी क्लबका सदस्य केशवराज ज्ञवालीज्यूले महत्वपूर्ण भुमिका निभाउनु भएको थियो! कार्यक्रम यदृक्षा उप्रेतीले ४ घन्टा सम्म सहज रूपमा सन्चालन गर्नु भएको थियो! संस्थाकी कोषाध्यक्ष रीता शिवाकोटीले कार्यक्रममा उपस्थित सबैप्रति आभार अनि कृतज्ञता प्रकट गर्दै कार्यक्रमको बीट मार्नु भएको थियो।

 
 
  
 

You may also like