छाडा पशु चौपायाले बढायो दुर्घटनाको जोखिम


रीया पाण्डेय
बुटवल
। बुटवलमा छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । मुख्य राजमार्ग र भित्री सडकमा यत्रतत्र छोडिएका चौपायाले सडकमा हिड्ने यात्रु तथा सवारी चालकलाई दुर्घटनाको जोखिम बढाएको हो।

किसानले गोठमा बाध्नुपर्ने पशुचौपायालाई सडकमा छाडा छोडिदिंदा पनि स्थानीय तहले व्यवस्थापनमा चासो नदिदा दुर्घटनाको जोखिम मात्र बढेको छैन ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनेको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले स्थानीय तहले छाडा छोडिएका पशुचौपायको व्यवस्थापनमा चासो नदिदा दुर्घटनाको जोखिम बढेको बताए।

छाडा चौपायाको व्यवस्थापनका लागि स्थानीय तहसंग बारम्बार अनुरोध गरेको भएपनि यसतर्फ चासो नदिदा दुर्घटनाको जोखिम बढेको उनको भनाई छ । उनले चौपाया व्यवस्थापनको जिम्मा स्थानीय तहको भएको भन्दै समस्या समाधानका लागि सबैले पहल गर्नुको विकल्प नभएको बताए।

किसानहरुले पशुले दुध दिंदासम्म दुध दुहुने र दुध दिन छोडेपछि, पशुचौपाय रोगी र बुढो भएपछि सडकमा छोड्ने प्रवृत्तिले बुटवलको मात्र होईन अधिकांश सहरमा छाडा चौपाया मुख्य समस्याको रुपमा रहेका छन्। तर स्थानीय तहहरुले विभिन्न बहानामा पशु चौपायालाई किसानले गोठदेखि बाहिर पठाउन रोक्ने गरि कुनै कार्य गर्न सकेको छैन।

सरोकारवाला निकायहरुका बैठकमा गोठमा पालिएका पशुचौपायालाई ट्याग लगाउन सके पशुधनीले सडकमा छाडा छोडिदिने प्रवृत्ति रोकिनसक्ने सुझाव दिंदै आएको भएपनि बुटवल उपमहानगरपालिकाले त्यसतर्फ खासै पहल गरेको छैन।

नगरपालिका तथा सम्बन्धित वडा कार्यालय मार्फत घरघरमा पालिएका पशुलाई ट्याग लगाउन सके एकातर्फ आफ्नो वडा तथा पालिकामा कति पशु पालिएका छन् भन्ने तथ्यांक रहने र अर्कोतर्फ ट्याग लगाएको पशु सडकमा छोडिदिंदा सम्बन्धित पशुधनीलाई कारवाही गर्न सहज हुने थियो।

बुटवल उपमहानगरपालिकाले पहिलेदेखि नै पशुलाई ट्याग लगाएर सम्बन्धित पशुधनीलाई जिम्मेवार बनाउने बताएपनि उक्त कार्य अझै शुरु भएको छैन ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले किसानले पालेका पशुचौपायको सबै विवरण राखि ट्याग लगाउने गरि योजना बनाएको बताए।–

“किसान र फर्मको तथ्याङ्क लिएर त्यहां पालिएका पशुचौपायालाई ट्याग लगाउने र उक्त पशुको जिम्मेवारी सम्बन्धित किसानले नै लिने गरि हामीले नियम बनाएका छौं, अब छिट्टै कार्यान्वयनमा लैजादै छौं । सुवेदीले भने।

”सुवेदीका अनुसार शिवनगर सामुदायिक बन संगको सहकार्यमा अहिले सडकमा आएका छाडा चौपाया व्यवस्थापनका लागि काम भईरहेको छ। बजारका बीच सडकमा ढसमस्स बसेका पशुचौपायाका कारण दैनिकजसो सडकमा गुड्ने साइकल, मोटरसाइकल, रिक्सा तथा चारपांग्रे सवारीसाधन समेत दुर्घटनामा पर्ने गरेका दैनिक जसो समाचार आईरहन्छ।

त्यस्तै बजार क्षेत्रमा छाडिने पशुचौपायाले सडकपेटीमा राखिएका पसल, ठेला तथा नाङले पसलधनीलाई समेत सास्ती बनाएका छन्। पसलमा राखिएका फलफुल तथा तरकारीहरु पशुचौपायाले खाएर नष्ट गर्ने गरेको उनिहरुको गुनासो छ ।

 
 
  
 

You may also like