कोटेश्वरमा प्रचण्ड–माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि सिंहदरबारका कार्यदलको वैठक बस्दै गर्दा वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज (शनिबार) कोटेश्वरमा भेटवार्ता भएको छ ।

शनिबार बिहान कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको नेपाल निकट स्रोतले जनाएको छ । एमाले कार्यदलले शनिबार एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल भएको हो । एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरूको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबीच भएको भेटवार्ता भएको हो ।

एमाले कार्यदलले तयार पारेको मस्यौदा आज सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ । त्यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनः वार्ता गराउने प्रयास भइरहेको छ । तर नेपाल भने ओलीसँग सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा नरहेको बताइएको छ ।

अध्यक्ष प्रचण्डले नेता नेपालसँग ओलीसँग मिल्न लागेको विषयमा पनि चासो राखेको स्रोतले जनाएको छ । विपक्षी गठबन्धनको पछिल्लो बैठक समेत माधव नेपाल सहभागी भएपछि मात्र बस्ने भनेर रोकिएको छ । बरिष्ठ नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठानिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओली सरह हस्ताक्षर चल्ने गरि पावर शेयरिङ हुनुपर्ने शर्त राखेका छन् । त्यसमा भने कार्यदलले केही गर्न सकेको छैन । स्रोतका अनुसार प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।

 

 
 
  
 

You may also like