आन्तरिक उडानमा कोटा प्रणाली लागु नहुने

काठमाडौं। आन्तरिक उडानको कोटा प्रणाली हट्ने भएको छ । कोटा प्रणाली हटेपछि आन्तरिक हवाई सेवा प्रदायकहरुले माग अनुसार नै उडान गर्न सक्ने छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको हो । वायुसेवा कम्पनीहरुले देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न माग गर्दै आएका थिए । उडान संख्या कम हुँदा टिकट पनि महङ्गो भएको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।

सरकारले यसअघि ५० प्रतिशतको सीमा तोकेको थियो । अब आइतबारदेखि यो सीमा हट्ने छ । ‘अब दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या तोकिएको छैन । चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएका छौं’, महानिर्देशक पोखरेलले भने । यद्यपि, विमानस्थलमा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने उनले बताए ।

 
 
  
 

You may also like