नारायणगढ–मुग्लिङ सडकमा फेरि पहिरो, इन्धनका ट्याङ्करसहितका गाडीहरु अलपत्र

काठमाडौ । नारायणगढ–मुग्लिङ सडक खण्ड पहिरोका कारण फेरि बन्द भएको छ । हिजो बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि गए रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकाको बैरहनीमा बुधबार दिउँसो खाना पकाउने ग्याँस बोकेका बुलेटहरू लामबद्ध थिए । नारायणगढ–मुग्लिङ सडकमा लगातार पहिरो खसेपछि धादिङ र काठमाडौंसम्म पुग्नुपर्ने बुलेटहरू त्यहीं रोकिएका छन् । सडकमा ढुङ्गा खसिरहेको जानकारी आएको र बुलेटमा ढुंगाले लागे खतरा हुने देखेर जाने आँट नगरेको चालकहरूले बताएका छन् ।

सडक यात्राका लागि सहज भए खबर गर्न प्रहरीलाई भनेको र सूचना आएपछि मात्रै अगाडि बढ्ने उनीहरूको भनाइ छ । मंगलबारसम्म भरतपुरको केन्द्रीय बस टर्मिनलमा समेत डिजेल, पेट्रोल बोकेका ट्याङ्कर टन्नै थिए । सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ ।

यो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । पूर्व र पश्चिमलाई काठमाडौंसम्म जोड्ने मुख्य यो सडकमा हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् । नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक खण्ड बन्द छन् । पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध, सयौं यात्रु साहुखर्कमा अलपत्र
यता पहिरो खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा आज (बिहीबार) बिहान ३ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् । राजमार्गमा माथिबाट पहिरो खसेको छ । राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन् ।

ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुसँगै मालबाहक ट्रक साहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like