अस्पतालको करिब डेढ अर्ब रुपैयाँ पर्ने करिब दुई बिघा जग्गा गायब !

by समतल अनलाइन

बुटवल।प्रदेश सरकारको दोस्रो गौरवको आयोजनामा राखिएको लुम्बिनी प्रादेशिक अस्पतालको जग्गा गायब भएको छ। ८ बिघा ४ कठ्ठा जमिनमध्ये अहिले ६ बिघा २ कठ्ठा ९ धुर जमिन मात्रै बचेको छ। बुटवलको केन्द्रमा करिब डेढ अर्ब रुपैयाँ पर्ने करिब दुई बिघा जमिन गायब भएको हो। सरकारले अस्पताललाई प्रदेशकै सुविधासम्पन्न बनाउने योजनासहित पूर्वाधार निर्माणको काम थालेको छ। तर अस्पतालको पूर्वाधार निर्माणका लागि जग्गा नै गायब भएपछि समस्या देखिएको हो। पुर्जामा ८ बिघा ४ कठ्ठा रहेको जमिनको ०७४ सालमा हालसाबिक गरिएको थियो।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण खनालले हालसाबिक गर्दा ६ बिघा २ कठ्ठा ९ धुरमात्रै जमिन भेटिएको बताए। ‘जग्गा गायब भएको आशंकापछि नापी कार्यालयमा खोजतलासको पत्र पठाएका थियौं’, उनले भने, ‘नापी कार्यालयले दुई बिघा जमिन नै कम देखाइदियो।’ १०९ वर्ष पुरानो अस्पतालको जग्गा सडक निर्माण तथा व्यक्तिगत रूपमा मिचिएको हुन सक्ने उनले बताए। ०२७ सालको नापी रेकर्डअनुसार अस्पतालको पुर्जामा साबिक कित्ता नम्बर ६ मा आठ बिघा चार कठ्ठा ९ धुर जग्गा उल्लेख छ।तर ०५१ सालमै सो जग्गा ७ बिघा १६ कठ्ठा पौने चार धुरमात्रै देखिएको थियो।०६३ माघ १५ गते भएको पुनः नापीमा अस्पतालको जग्गा ६ बिघा

१० कठ्ठा सवा १७ धुरमात्रै भएको नापी कार्यालय बुटवलले जनाएको छ। प्रादेशिक अस्पतालले नापी कार्यालयलाई ०७४ माघ २५ गते हराएको जग्गा खोजिदिन आग्रह गरेको थियो। नापी कार्यालयले उत्तरतर्फको महेन्द्र राजमार्गको पूरै भाग अस्पतालकै जग्गाबाट बनाइएकाले जग्गा घटेको पत्र अस्पताललाई दिएको छ। सडक निर्माणमा जग्गाधनीहरूले आफ्नो जग्गा जोगाएर अस्पतालको जग्गाबाट मात्रै सडक बनाउन चलाखी गरेको देखिएको छ।महेन्द्र राजमार्गको अस्पताल लाइन, नेपालगञ्ज रोडसहित कालिका पथ निर्माणमा पनि अस्पतालको मात्रै जग्गा प्रयोग भएको छ। अस्पतालका पूर्वकर्मचारीले भने हाल प्रदेश सभाको भवन रहेको क्षेत्रसम्मै अस्पतालले जग्गा चर्चेको बताउँदै आएका छन्। अस्पतालले शवको पोष्टमार्टम नदीकिनारको ढुंगामा गर्दै आएको पूर्वकर्मचारीले बताए। तर अहिले त्यो क्षेत्रमा विभिन्न संघसंस्थाका सचिवालय र निजी घर भरिएको छ। अस्पतालका पूर्वपदाधिकारीको लापर्बाहीले जग्गा गुमेको बताइएको छ।मेसु खनालले जग्गा खोजबिन गरिदिन सार्वजनिक रूपमै आग्रह गरेका छन्। अस्पतालले पूर्वाधार निर्माणका लागि जग्गा अपुग भएपछि इलाका वन कार्यालयको जग्गा हडप्ने भएको छ। प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो स्थानलाई अस्पताल क्षेत्रमा गाभेर भवन निर्माण गरिने बताए। ‘यो प्रदेशको रिफरल हस्पिटलका रूपमा विकास हुँदैछ, त्यसका लागि पूर्वाधार निर्माण हुन्छ’, उनले भने, ‘हाल प्रयोगमा रहेका

अस्पतालका सटरसहित इलाका वनको जग्गा समय यसमै गाभ्ने प्रक्रिया थालिएको छ।’प्रदेश सरकारको १७ करोडको लगानीमा ६ तले भवन निर्माण थालिएको छ। अस्पतालका पुराना भवन भत्काएर नयाँ निर्माण गर्ने योजना छ। अहिले संघीय र प्रदेश सरकारको बजेटमा दुई ठूला भवन निर्माण भइरहेका छन्। भवन अभावका कारण अहिले एउटै बेडमा चारजनासम्म बिरामी राख्नुपर्ने बाध्यता रहेको खनालले बताए। चार सय बेडको स्वीकृति पाएको अस्पतालमा अहिले २६० बेड छन्। नयाँ भवन निर्माण सकिनासाथ बेडको संख्या ९ सय ५० पुग्नेछ।अस्पतालले केही दिनमै मृगौला डायलाइसिस सेवा सुरु गर्दैछ भने अर्थो र न्यूरो सेवा विस्तार गर्ने योजना बनाएको छ। अस्पतालको गुरुयोजना निर्माणका लागि प्रदेश योजना आयोगका उपाध्यक्ष डा। ईश्वर गौतमको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ। सो समितिले बनाएको प्रतिवेदनका आधारमा अस्पतालको विस्तार गरिने मन्त्री बरालले बताए।अस्पतालमा न्यूनतम सेवा प्रदानका लागि पूर्वाधार र जनशक्ति अभाव छ। हाल ९७ जना विशेषज्ञ डाक्टरसहित ५ सय २० जना कर्मचारी कार्यरत छन्।सरकारले तोकेको न्यूनतम स्वास्थ्य सेवा दिनका लागि तीन गुणा बढी जनशक्ति चाहिने मेसु खनाल बताउँछन्। तर अस्पतालमा कार्यरत अहिलेकै चिकित्सक निजी अस्पतालमा व्यस्त हुँदा उपचार सेवा प्रभावकारी हुन नसकेको आरोप छ। अस्पतालमा अहिले दैनिक आठ सय बिरामी उपचारका लागि आउने गरेका छन्।tesroaankha

 
 
  
 

You may also like