सञ्चालनमा नआउँदै भासियो धनुषा–सिरहा जोड्ने कमला पुलको पिलर

जनकपुरधाम । सञ्चालनको अन्तिम चरणममा रहेको कमला पुलको पिलर भासिएको छ । हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल निर्माण भएर सञ्चालनको तयारी भइरहेका बेला भासिएको हो ।

पानीको बेग बढ्दै गएपछि बिहीबार एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिएका छन् । उनका अनुसार नदीमा आएको बाढीका कारण आज बिहान पूर्वबाट पश्चिमको दोस्रो (स्पान–पिलर) भासिएको छ ।

सञ्चालन नहुँदै पुलको पिलर भासिन थालेपछि प्रमुख जिल्ला अधिकारी कणेलले छानबिनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेका छन् । उनले पुलको डिजाइन गलत भएर वा डिजाइन अनुसार काम नभएकाले पिलर भासिएको हुनसक्ने बताएका छन् ।

४७० मिटर पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । शुरुमा आफैले काम गरेको पप्पुले करिब ३५ प्रतिशत काम सम्पन्न गरेको थियो । पछि घाटा हुने देखिएपछि पप्पुले हात झिकेको थियो । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो ।

प्रजिअ कणेलका अनुसार भासिएको स्पान निर्माण पप्पुले नै गरेको हो । पुलको निर्माण कार्य ४२ महिनामा भइसक्नुपर्ने थियो । तर झण्डै १० वर्षपछि निर्माण पूरा भए पनि हस्तान्तरण नहुँदै भासिएको छ ।

 

 
 
  
 

You may also like