युरोकप : अस्ट्रियालाई हराउँदै इटली क्वार्टर फाइनलमा

काठमाडौं । इटली युरोकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । इङल्याण्डको वेम्बली स्टेडियममा गए राति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक–एक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटलीले क्वार्टर फाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्ने छ । समूह चरणमा इटलीले ३ खेलमा ९ अङ्क जोडेको थियो । समूह चरणमा अस्ट्रियाले ३ खेलमा ६ अङ्क जोडेको थियो ।

 
 
  
 

You may also like