सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग बनाउन प्रस्ताव

काठमाडौं। प्रस्तावित नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेको प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग सञ्चालन गर्न सुझाव दिएको छ ।

नेपालका लागि प्रतिक्षित रेलमार्गको परियोजनामा संलग्न एक इन्जिनियरले सगरमाथा क्षेत्र हुँदै भूमिगत सुरूङ निर्माण गरेर नेपालमा रेल लैजान सुझाव दिएको चीनबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

प्रस्तावित रेल मार्ग विभिन्न संरक्षित वन्यजन्तुको बासस्थान रहेको क्षेत्र हो । तर त्यो भाग नेपालतर्फ भने नपर्ने खबरमा उल्लेख छ । रेलमार्ग निर्माणको लागि आठ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको छ । रेलवे स्टान्डर्ड डिजाइनमा गएको बुधबार प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार रेलमार्गको ३० किलोमिटर दुरी सगरमाथा क्षेत्र हुँदै जानेछ ।

सगरमाथा क्षेत्रमा भने रेलमार्ग पूर्णरुपमा जमिनमुनि हुने जनाइएको छ । दुई देशको सीमा क्षेत्रमा विस्तार गरिने एक हजार किलोमिटरसम्मको रेल मार्गका लागि ६ रुट प्रस्ताव गरिएको छ । प्रस्तावित रुटमध्ये सगरमाथा क्षेत्र हुँदै रेलमार्ग लैजाने विषयमा बहस केन्द्रित भएको जनाइएको छ ।

अरु मार्ग निकै लामो, खर्चिलो र भौगोलिक रुपमा कठिन हुने बताइएको छ । सगरमाथा क्षेत्र हुँदै जाने रेलमार्गले नेपालको काठमाडौंबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्छ । चीन र नेपालबीच दुई देशलाई जोड्ने रेल मार्ग बनाउने सम्बन्धी सन्धिमा सन् २०१६ मा हस्ताक्षर भएको थियो । यो रेलमार्ग चीनको बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गतको हो ।

 
 
  
 

You may also like