थुनिएको मर्स्याङ्दी नदी अझै खुलाउन सकिएन, चामेबजार जोखिममा

मनाङ। मनाङको चामेमा थुनिएर मर्स्याङ्दी नदी अझै खुलेको छैन । पुलमा रुख तथा ढुङ्गा अड्किँदा हिजो दिउँसोदेखि थुनिएको नदी अझै खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङ्गका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिएका छन् ।
शनिबार हुम्डेमा पहिरो खसेपछि मर्स्याङ्दी नदी आंशिक रुपमा थुनिएको थियो । हुम्डेको पहिरो आइतबार ठूलो भेलले खुलाए पनि चामेको बेलिब्रिजमा बनेको ताल भने अझै फुटाउन सकिएको छैन ।

‘आइतबार दिनभर ताल फुटाउने प्रयास गरे पनि सफल हुन सकिएन’, मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘पुलमा अड्किएका केही काठपात त झिकियो, ठूलाठूला चट्टानहरु हटाउन सकिएको छैन ।’ अहिले पुल माथिबाट नदी बगिरहेको छ भने आसपास झण्डै १० मिटर सडक कटान भइसकेको छ ।

पुलमा नदी थुनिँदा पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ र वडा नम्बर चारको चामे बजार जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन् । डोजर लगाएर नदीको अवरोध हटाउने प्रयास भए पनि पानीको बहाव बढी भएकोले सम्भव नभएको डीएसपी खड्काले बताएका छन् ।

लेकाली क्षेत्रमा पानी परेकोले मर्स्याङ्दी नदी तथा चामे बजारमा रहेको ठाडो खोलामा पनि पानीको सतह बढीरहेको र यसले चामे बजारसहित तल्लो क्षेत्रमा जोखिम रहेको उनले बताएका छन् ।

 

 
 
  
 

You may also like