मायादेवीमा नीति तथा बजेट कार्यक्रम सार्वजनिक

भैरहवा। रुपन्देहीको मायादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले बुधबार बजेट सार्वजनिक गर्दै मायादेवीको प्राथमिकतामा स्वास्थ्य, शिक्षा एवं कृषि तथा पूर्वाधार रहेको जानकारी दिए ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६३ करोड ८७ लाख ४४ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । जसमध्ये संघीय सरकारबाट ४५ करोड १ लाख १५ हजार, प्रदेश सरकारबाट २ करोड ९५ लाख ४४ हजार प्राप्त हुने प्रक्षेपण गरेको छ । त्यस्तै गाउँपालिकाकै बैंक मौज्दात ९ करोड ४८ लाख रहेको छ र आन्तरिक आय ६ करोड ५० लाख रुपैयाँ हुने गाउँपालिकाको अनुमान रहेको छ । खर्चतर्फ भने पूंजीगत खर्च ३८ करोड ३२ लाख ४६ हजार ४ सय रुपैयाँ र चालुतर्फ २५ करोड ५४ लाख ९७ हजार ६ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले अहिले वडामा १ करोड ५० लाखको बजेट सिलिङ तोकेको जनाएको छ ।

images
गाउँपालिका अध्यक्ष चौधरीले कोरोना रोकथाम र नियन्त्रणका लागी अपनाइने स्वास्थ्य सुरक्षा तथा औषधी उपचारको लागी बजेट व्यवस्थापन गर्दै महामारीविरुद्ध केन्द्रित रही बजेट व्यवस्थापन गरिएको जानकारी दिए । गाउँपालिकाले सेवा प्रवाहको कार्यचाप मध्यनजर गर्दै अतिरिक्त समयमा सेवा दिने राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च पार्न प्रोत्साहन स्वरुप कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई सुरु तलब स्केलको २५ प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेको छ ।

त्यस्तै करारका कर्मचारीलाई २० प्रतिशत प्रोत्साहन र स्वास्थ्यकर्मीहरुको लागि उचित जोखिम भत्ताको लागी समेत बजेट विनियोजन भएको चौधरीले जानकारी दिए ।

गाउँपालिकाले स्वास्थ्यतर्फ कडा नीति बनाएको छ । वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष चौधरीले निजी स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन र नियमन गर्ने बताउँदै अवैध रुपमा संचालित स्वास्थ्य संस्थाहरु बन्द गराउने जनाएका छन् ।

कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, संस्कृति र सभ्यतालाई मायादेवी गाउँपालिकाले अघि सारेको उनले बताए । सुखी जनता र समृद्ध मायादेवीको प्रतिवद्धता भन्ने दीर्घकालिन सोच र विकासका सबै चरणहरुमा जनताको अर्थपूर्ण सहभागितासहित सन्तुलित र चौतर्फी विकास नै गाउँपालिकाको प्राथमिकता रहेको उनले बताए ।

कोभिड–१९ को कारण गाउँपालिकाको विकास निर्माणदेखि अन्य सबै कार्यहरु प्रभावित भएको र बेरोजगारी समेत बढाएको अवस्थामा पालिकास्तरमै रहेका विभिन्न औद्योगिक प्रतिष्ठानको सहकार्यमा रोजगारीको व्यवस्था गरिदै छ । यस अतिरिक्त गाउँपालिकामै कृषिलाई प्राथमिकतामा राखी स्वरोजगारको अवसर पनि उपलब्ध गराइने नीति ल्याइएको छ ।
दीर्घकालीन कृषि योजनाले अवलम्वन गरेका नीतिहरुका आधारमा खाद्यान्न बाली, नगदे बाली, तेलहन बाली, दलहन बाली तथा च्याउ खेती, व्यवसायिक तरकारी खेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहुँ बालीको पकेट क्षेत्रको रुपमा विकास गरिने गाउँपालिकाले जनाएको छ । यसको लागी संघीय र प्रदेश सरकारको समेत सहयोगमा कृषिलाई उकास्ने काम गरिने उल्लेख छ ।

 
 
  
 

You may also like