प्रचण्डको गृह जिल्ला भनेर सरकारले चितवनलाई उपेक्षा गर्‍यो : प्रचण्ड

चितवन।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डको गृह जिल्ला भनेर ओली सरकारले चितवनलाई बजेटमा पनि उपेक्षा गरेको गुनासो गरेका छन् ।

आज (मंगलबार) विपत् व्यवस्थापन र जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले चितवनको समस्या हल गर्न र विकास निमार्णको कामलाई सकारात्मक बनाउन अहिलेको सरकारले नचाहेको बताए ।

प्रधानमन्त्री केपी ओलीले चितवनलाई एउटा जिल्ला हो भन्ने भन्दा पनि प्रचण्डको गृह जिल्ला भनेर छुट्याएको उनले बताएका छन् । उनले चितवनमा विकास भयो भने प्रचण्डले फाइदा उठाउँछ भनेर ओली सरकारले चितवनलाई उपेक्षा गरेको टिप्पणी गरे । भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गराउन बारम्बार आग्रह गर्दा पनि सरकारले बजेट विनियोजन नगराएको उल्लेख गरे । मंगलबार बिहान उनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन पनि गरेका थिए ।

‘देशलाई कुनै हालमा दुर्घटनामा जान दिन्नँ’
यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने बताएका छन् । माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्ध नेपाल र जनताको मजबुत एकताका लागि आफू लडिरहने उल्लेख गरे ।

‘तपाईंहरु सबै सचेत हुनुहुन्छ । संविधान दुर्घटना हुन पनि दिँदैनौँ । धेरै नेपाली जनता सचेत रहेकाले र राजनीतिक दलभित्र पनि नेता–कार्यकर्ता राष्ट्रप्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जानै दिइँदैन । गणतन्त्र, लोकतन्त्र पनि बच्छ र राष्ट्रियतामाथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ’, उनले भने ।

प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत् जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडि बढाउने जिकिर गरे ।

 
 
  
 

You may also like