जसपा विवादमा निर्वाचन आयोगले महन्थ ठाकुर पक्षसँग माग्यो लिखित जवाफ

काठमाडौं। उपेन्द्र यादव पक्षले जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ ।

आयोगले जसपाको ठाकुर पक्षलाई १५ दिनको समय उपलब्ध गराउँदै जवाफ दिन भनेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ (२) मा एक पक्षले आधिकारिता दाबी गर्दै निवेदन दिएमा अर्को पक्षलाई १५ दिनको समय दिएर जवाफ माग्नुपर्ने व्यवस्था छ ।

अर्को पक्षले माग गरेमा थप १० दिन सकिने व्यवस्था ऐनमा रहेको छ । असार ४ गते यादव पक्षले आयोगसमक्ष आधिकारिकताको दाबी गरेका थिए । यादवले कार्यकारिणी समितिका ५१ मध्ये ३० जना सदस्यको हस्ताक्षरसहित दलको आधिकारिता दाबी गरेका हुन् ।

यादव पक्षले आधिकारिकता दाबी गर्दै निवेदन दिएपछि आयोगले ठाकुर पक्षलाई पत्र पठाएर लिखित जवाफ पेस गर्न भनेको हो । जसपामा विवाद बढ्दै गएपछि दुवै पक्षले एकअर्कालाई कारबाही गर्दै आयोगलाई जानकारी गरारहेका छन् ।

गत जेठ १८ गते यादव पक्षले ठाकुर पक्षका ४ जना र ठाकुरले यादवलाई निष्कासन गर्दै आफ्नो दलको दर्ता किताबलाई अद्यावधिक गर्न अनुरोध गरेका थिए । तर, आयोगको जेठ ३१ को बैठकले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै साविक पदाधिकारीलाई कायमै रहने जनाएको छ ।

असार १ मै ठाकुर पक्षले विवादित विवरणसहित आयोगमा कागजपत्र दर्ता गरेपछि उपेन्द्र यादव पक्षले त्यसको खण्डन गर्दै आधिकारिकता दाबी गरेको हो ।

 
 
  
 

You may also like