काठमाडौं उपत्यकामा निजी गाडी चलाउन दिने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयदेखि जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउने तयारी भएको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न आज (आइतबार) ५ बजे बैठक बस्ने तयारी भइरहेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन ।

स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् । आइतबार बसेको काठमाडौं जिल्लाको डीसीसीएमसीमा सहभागी एक अधिकारीले भने, ‘निजी गाडीलाई खोल्न दिने कुरा भएको छ, मोडालिटीबारे टुंगिएको छैन ।’

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको ५ बजे बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिएका छन् । अहिले संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठक बसिरहेको बताउँदै उनले थप हुने निषेधाज्ञाबारे सुझाव लिइएको बताए । आज नै निषेधाज्ञाबारे प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श लिने जनाइएको छ ।

थप हुने निषेधाज्ञालाई खुकुलो बनाउने तयारी गरिएको छ । यसअघि घोषित निषेधाज्ञाको अवधि भोलि (असार ७ गते) बाट सकिँदै छ । कोरोना महामारी नियन्त्रण भइनसकेकाले निषेधाज्ञा जारी राख्ने तर अबदेखि पहिलेभन्दा सहज किसिमको ‘स्मार्ट निषेधाज्ञा’ गरिने चर्चा केही दिनदेखि चलिरहेको छ । कोरोना महामारीको दोस्रो लहर शुरु भएयता काठमाडौं उपत्यकामा गत वैशाख १६ गते शुरु गरिएको निषेधाज्ञाको अवधि पटक–पटक थपिइरहेको छ ।

 
 
  
 

You may also like