आज कुन–कुन जिल्लामा छ बाढीको खतरा ?

काठमाडौं। दुई दिन अलि मत्थर भएको मनसुन आजदेखि फेरि बढ्ने मौसमविदले बताएका छन् । आज बिहानको मापनानुसार महाकाली र यसका सहायक नदीमा पानीको बहाव सतर्कता तह आसपास छ ।

आज देशका धेरैजसो भू–भागमा भारी वर्षा हुने र तराईका जिल्लाहरुमा बढी पानी पर्ने मौसमविदले बताएका छन् । भारी वर्षासँगै देशभरका नदीनालामा जल सतक बढ्न सक्ने मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको, सबै नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको भए पनि बर्षा हुन थालेपछि ह्वातै बढ्न सक्ने महाशाखाले जनाएको छ ।

आज महाकाली र यसका स–साना सहायक नदीमा बहाव बढ्ने र केही साना नदीमा बहाव सतर्कता तह पार गरी खतरा तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । उक्त क्षेत्रका स–साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज कोशी जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्दो हुनेछ । केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्नेछ ।

महाशाखाले आइतबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनानुसार आज कन्काई, कमला, वाग्मती जलाधारका केही स–साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्नेछ । पश्चिम राप्ती, तिनाउ, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स–साना नदीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, परासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, कञ्चनपुर, कैलाली, डडेलधुरा, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव बढ्दो हुनेछ । केही आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

 
 
  
 

You may also like