साबिक विजेता पोर्चुगलमाथि जर्मनीको शानदार जितA

काठमाडौं। जारी युरोकपको सर्वाधिक रोमाञ्चक तथा प्रतिस्पर्धात्मक शनिबार रातिको खेलमा तीन पटकको विजेता जर्मनीले साबिक विजेता पोर्चुगललाई ४–२ को फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै युरोकपकै ‘ग्रुप अफ डेथ’ समूह भनिएको एफमा जर्मनीले प्रि–क्वार्टर फाइनलको आशा जीवित राखेको छ ।

पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । पोर्चुगलले हंगेरीमाथि ३–० को जित निकाली युरोकपमा उत्कृष्ट सुरुवात लिएको थियो । समूहको आफ्नो दोस्रो खेलमा जर्मनीबाट पराजित भएपछि पोर्चुगल अंकतालिकाको तेस्रो स्थानमा झरेको छ । यस समूहमा फ्रान्स चार अंकका साथ शीर्ष स्थानमा छ ।

जर्मनी र पोर्चुगलले समान दुई खेलबाट तीन–तीन अंक जोडेका छन् । गोलअन्तरमा जर्मनी दोस्रो स्थानमा रहेको छ । एक अंक बटुलेको हंगेरी चौथो स्थानमा छ ।

पोर्चुगलको हारमा चार मिनेटको अन्तरमा भएका दुई आत्मघाती गोल मुख्य रह्यो । दुई डिफेन्डरले आफ्नै पोस्टमा गोल गर्दा पोर्चुगललाई खेलमा फर्कन कठिन भएको हो । पोर्चुगलका लागि रुवेन डियास तथा राफयल गुइरेरोले आत्मघाती गोल गरेका हुन् । खेलको ३५औं मिनेटमा डिफेन्डर डियासले काइ हाभेर्जको प्रहारलाई क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा बल छिराए । यो गोलसँगै जर्मनीले खेल १–१ को बराबरी गरेको थियो ।

खेलको ३९औं मिनेटमा राफायलले आत्मघाती गोल गर्न पुग्दा जर्मनीले खेलमा २–१ को अग्रता लियो । जर्मन खेलाडी जोसुआले प्रहार गरेको कट ब्याक बचाउने क्रममा राफायलले आफ्नै पोस्टमा बल छिराएका थिए । यसअघि खेलको पाँचौं मिनेटमै जर्मनीले पोर्चुगलमाथि १–० को अग्रता लिएको थियो । तर, भिएआरमा सर्जी जिनाब्रीको उत्कृष्ट गोल अफसाइड देखिएको थियो । जसका कारण जर्मनीले अग्रता गुमायो ।

खेलको १५औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले काउन्टर एट्याक्टमा पोर्चुगललाई १–० को अग्रता दिलाए । डिएगो जोटाले सानो डिबक्सबाट दिएको क्रस पासमा रोनाल्डोले सहजै गोल गरे । रोनाल्डोले चालू युरोकपमा व्यक्तिगत तीन गोल पु¥याएका छन् । समग्रमा युरोकपमा उनको व्यक्तिगत १२औँ गोल हो । साथै, रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा एक सय सात गोल पु¥याएका छन् । अब इरानका अली दाईले राखेको विश्वकीर्तिमान एक सय नौ गोल बराबरी गर्न रोनाल्डोलाई दुई गोल आवश्यक छ ।

रोनाल्डोको गोलसँगै पोर्चुगलले नकआउट चरण पुग्ने आशा बलियो बनाएको थियो । जर्मनी भने हारबाट पहिलो चरणबाटै बाहिरिन सक्थ्यो । तर, जर्मनीले पोर्चुगलविरुद्ध आफ्नो परम्परागत फुटबल खेल्ने शैलीमै प्रतिस्पर्धालाई निरन्तरता दिइरह्यो ।

पोर्चुगलविरुद्ध जर्मनीले काउन्टर एट्याक्ट, लङ पास, डिबक्सभित्र हेडिङ गोल प्रयास तथा काउन्टर रणनीति अपनाएको थियो । पोर्चुगलले केवल काउन्टरमा मात्र जर्मनीमाथि दबाब राख्ने कोशिस गरेको थियो । दोस्रो हाफमा जर्मनीले थप दुई गोल गर्दै आफ्नो जित पक्का पा¥यो ।

खेलको ५१औं मिनेटमा हाभेटज तथा खेलको ६०औं मिनेटमा गोसेन्सले गोल गर्दा जर्मनी ४–१ को बलियो स्थितिमा पुग्यो । पोर्चुगलका लागि खेलको ६७औं मिनेटमा जाटाले एक गोल गर्दै पोर्चुगललाई ४–२ को अन्तरमा ल्याए ।

 
 
  
 

You may also like